बुटवल समाचारदाता
बुटवल, साउन ३१ गते । लुम्बिनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त हुनुभएको छ। सभामुख तुलाराम घर्तीमगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई आइतबार नियुक्त गर्नुभएको हो।
बुटवलमा आयोजित एक कार्यक्रमबिच उहाँलाई प्रदेश प्रमुख शेरचनले जिम्मेवारी सुम्पनुभएको छ। यसअघि पुनले पाँच वर्षसम्म प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा जन्मिनुभएका पुन माओवादीको सशस्त्र युद्धमा पाँच वर्ष भूमिगत भई १७ वर्ष राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। ४८ वर्षीय पुनले नेपाल ल क्याम्पसबाट कानुन र राजनीतिशास्त्र दुवैमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ।
प्रदेशका सांसद तथा प्रदेश सभाबिच नङ र मासुको जस्तै सम्बन्ध रहनुपर्ने बताउँदै उहाँले ती दुई संस्थाबिच पुलको भूमिका निर्वाह गर्ने बताउनुभयो। प्रदेश सभामा विचाराधीन विधेयकहरूलाई अघि बढाउने, नयाँ विधेयक ल्याउन विषयगत समितिहरूसँग परामर्श गर्ने सन्दर्भमा आफ्नो भूमिका प्रभावकारी हुने भनाइ उहाँको थियो।