रमेश विश्वकर्मा
गुल्मी, साउन ३० गते । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गा बस्ने भगवान् सिं ठकुरीको २१ वर्षीय छोरा को शैलेस सिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार साँझ ६ः०० बजेको समयमा आफ्नो साथीसँग मुसिकोट नगरपालिका वडा नम्बर ३ देविस्थान सामुदायिक जङ्गलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्न जाने क्रममा अरिङ्गालले टोकी घाइते हुनुभएका ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायब निरीक्षक पाण्डेका अनुसार ठकुरी अरिङ्गालले टोकी घाइते भई घरमा आएर सुत्नुभएको थियो । मङ्गलबार बिहान ५ः०० बजेको समयमा उहाँको आमा र दाइले देखेपछि उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।
बिहान ८ः३० बजेको समयमा घाइते ठकुरीको डा। द्वारा मृत घोषणा गरिएको छ । आवश्यक अनुसन्धानको लागी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।