• १३ असोज २०८१, आइतबार

सडक अवरुद्ध, तीन जना बेपत्ता

blog

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, साउन ३० गते  । केही दिनअघिदेखि परेको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा क्षति पु-याएको छ। बाढीले बगाएर मानवीय क्षतिका साथै  पहिरोका कारण सडक अवरुद्ध भएका छन्। बाढीका कारण मानव बस्ती डुबानमा परेका छन्। नदीमा आएको बाढीका कारण बस्ती उच्च जोखिममा रहेका छन्। 

बर्दिया समाचारदाताका अनुसार बबई नदीमा दाउरा टिप्न गएका तीन जना बेपत्ता भएका छन्। बाढीले बगाएर बेपत्ता भएकाको खोजी भइरहेको छ। आइतबार बबई नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका तीन जना बेपत्ता भएका हुन्। बेपत्ता भएकामा गुलरिया नगरपालिका–२ का २७ वर्षीय महेश चौधरी, वडा नम्बर ८ का २३ वर्षीय अक्षय चौधरी र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण चौधरी रहनुभएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हिक्मतबहादुर बोहराले नदीमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको जानकारी दिनुभयो। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोटरबोटको सहायताले बेपत्ताको खोजी गर्दासमेत फेला पार्न नसकिएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो। अविरल वर्षाका कारण स्थानीय खोलामा आएको बाढी पसेर बारबर्दिया नगरपालिका–८ दुधामा ४० घर, भगतपुरमा २२ घर र वडा नं. ६ गुलरा गाउँमा १५ घर गरी ७७ घरधुरी प्रभावित भएका छन्। बाँसगढी नगरपालिका वडा नं. ८ रेशमपुरमा ६० घर र वडा नं. ९ कुनैठीमा १२० घर गरी १८० घर प्रभावित भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्र बर्दियाले जनाएको छ। 

सडक अवरुद्ध

बाँके समाचारदाताका अनुसार नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३,  खजुरा बजारस्थित पेडारी नालामा बाढी आउँदा हरेक पटक आवागमन अवरुद्ध हुने गरेको छ। पछिल्लो एक सातायता खोलामा बाढी आउँदा पटक पटक सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक विष्णु बेल्बासेले खोलामा पटक पटक पानीको सतह बढेर सडकमा आउँदा यात्रु प्रभावित हुने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थानीय युवाको सहयोगमा बाढीमा फसेकालाई वारपारमा सहयोग गरिरहेका छौँ।”  खजुरा गाउँपालिकाले आइतबार रातिसम्म सडकमा फसेकालाई ट्याक्टरमार्फत वारपार गराएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो। बाँकेको नेपालगन्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्ने गरेको छ। 

नालाको पानी सडक भएर बग्ने भएपछि दर्जनौँ सवारीसाधन र पैदलयात्रु बिच बाटोमा रोकिनु परेको छ। कतिपय व्यक्ति भने जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले हरेक पटक ठुलो वर्षापछि नाला सडक भएर बग्दा बाटोमा हिँड्नेहरू जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “अग्लो पुल निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।” चार लेन सडक झैँ फराकिलो पुल निर्माणका लागि सङ्घीय सरकारबाट डिपिआर भई निर्माण सुरु हुने जानकारी आएको उहाँले बताउनुभयो। खजुरामा छ वर्षदेखि चार लेन सडक निर्माण कार्य भइरहेको छ। अहिले नेपालगन्ज–गुलरिया चार लेन सडक विस्तारको कार्य भइरहेको छ। सडक चार लेनको भए पनि पेडारी नालाको पुल भने फराकिलो बनाउन बजेट विनियोजन नभएको भन्दै स्थानीयले पटक पटक सडक डिभिजन कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् ।

रुपन्देही समाचारदाताका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पटक पटक अवरुद्ध भएको छ। केही दिनअघिदेखि परेको अविरल वर्षाका कारण दिनहुँजसो केही घण्टा सडक अवरुद्ध हुने गरेको छ। अविरल वर्षासँगै बुटवल–पाल्पा सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध हुने गरेको हो। गएराति पहिरोले आठ घण्टा अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारीसाधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी निरीक्षक कमल थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले डोजर लगाएर पहिरो पन्छाउने काम गरेको भए पनि सडक दुईतर्फी सञ्चालन हुन सकेको छैन। पहिरो खसेर अवरुद्ध भएका सवारीसाधन दुईतर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ। पहिरोसँगै रुख, ढुङ्गा, माटोसहित खसेकाले पन्छाउन समय लागेको छ। राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिने गरेको स्थानीय नेता राजेश श्रेष्ठले बताउनुभयो।

बाढीको त्रासमा स्थानीय

नेपालगन्ज समाचारदाताका अनुसार वर्षा लागेपछि निर्माण सुरु गरिएको बाँके राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडियास्थित राप्ती नदीमा तटबन्ध निर्माणको काम पूरा नहुँदै रोकिएकाले स्थानीय आक्रोशित भएका छन्। 

गत वर्षको बाढीले बगाएको सो तटबन्ध निर्माणका लागि स्थानीयले पटक पटक दबाब दिए पनि ढिलो गरी सुरु गरिएको तटबन्ध निर्माणको काम ढुङ्गाको अभाव जनाउँदै रोकिएको छ। समयमा तटबन्ध नबन्दा बाढी आउने र गाउँमा पस्ने त्रासले स्थानीय आक्रोशित भएका हुन्। खल्लाझगडिया गाउँका स्थानीय अरुण यादवले वर्षा सुरु भइसके पनि भत्किएको तटबन्धको निर्माण पूरा नगरेरै रोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्ने त्रासले स्थानीय चिन्तित बनेको बताउनुभयो। 

उहाँले ढुङ्गाको अभाव देखाएर तटबन्ध निर्माण रोकिएको जनाउँदै जसरी पनि जनताको सुरक्षाका लागि ढुङ्गाको व्यवस्था गरेर तत्काल तटबन्ध निर्माण गर्न माग गर्नुभयो। यस्तै अर्का स्थानीय नरेश यादवले तटबन्ध निर्माण छिटै सुरु नगरिए जनतामा आक्रोश बढ्दै जाने बताउनुभयो। 

ढुङ्गाको व्यवस्था गर्न नसक्ने सरकारले जनतालाई कसरी राहत दिन्छ भनी उहाँले प्रश्न गर्नुभयो। तटबन्ध निर्माण रोकिँदा बाढी र डुबानको त्रासले यादव मात्र नभई सिङ्गो खल्लाझगडिया गाउँ र वरिपरिका स्थानीय त्रसित बनेका छन्। 

सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसीका अनुसार तत्कालै अति जोखिममा रहेका राप्तीसोनारी–२ को खल्लाझगडियाका जनताको सुरक्षाका लागि तटबन्ध निर्माण अपरिहार्य भएको बताउनुभयो। धेरै प्रयास र दौडधुपपछि दुई करोड बजेट ल्याएर तटबन्धको काम सुरु गराएकोमा बाँके राष्ट्रिय निकुञ्जले ढुङ्गा निकाल्न नदिएपछि काम रोकिएको जनाउँदै मन्त्रीपरिषद्ले निर्णय गरेपछि मात्र ढुङ्गा निकाल्न दिने जवाफ पाइएको बताउनुभयो।