• २० असोज २०८१, आइतबार

सडक बिचैमा रुख राखेर कालोपत्रे

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, साउन ३० गते । लाखौँ रकम खर्चेर सडकको स्तरोन्नति गर्न कालोपत्रे गरिएको छ तर सडकको बिचैमा भएको रुख काटिएन । हेर्ने र देख्नेलाई समेत आश्चर्य लाग्न सक्छ । मोरङको पथरी–जाँते– हुँदै लेटाङ ८ को  ज्यामिरे जोड्ने  सडकको बन क्षेत्रका ठाडा रुखहरू नहटाई निर्माण कम्पनीले सडक कालोपत्रे गरेको छ । 

कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक  कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते  शिलान्यास गर्नु भएको थियो ।  राईले तीन वर्षमा सडक निर्माण गर्ने योजना भए पनि दुई वर्षमा नै योजना सम्पन्न गरी आफैले उद्घाटन गर्ने बताउनु भएको थियो । तर, ४ वर्ष पुग्नै लाग्दा पनि १७ किलोमिटर लम्बाइको सडक ११ किलोमिटर मात्र कालोपत्रे भएको छ । 

लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जोडिने यो सडक उत्तरी मोरङको व्यापार प्रवर्द्धनका लागि महत्त्वाकाङ्क्षी योजना हो ।  तीन वर्ष देखि पटक पटक रुख हटाइदिन आग्रह गर्दा पनि बनले अटेर गरेपछि सडक कालोपत्रे गरिएको निर्माण कम्पनीका सञ्चालकको भनाई छ । 

बन मन्त्रालय र बन विभागमा रुख काट्ने अनुमति माग्न फायल बोकेर धाउँदा धाउँदै २ वर्ष बितिसकेको स्थानीय सोमनाथ दाहालले बताउनु भयो । पूर्वाधार विकास कार्यालय मोरङले सडक क्षेत्रको बाहेक चार दशमलव ७७ हेक्टर बन क्षेत्रका रुख हटाउन आवश्यक भएको भनी प्रारम्भिक वातावरणीय परीक्षण(आइईई) गराएको थियो । तर बन विभागले सडक क्षेत्र सबै बनकै क्षेत्र भएकोले ११ दशमलव १८५ हेक्टर क्षेत्रको आईइइ गरेर रुख काट्न नमिल्ने भनेपछि कटान रोकिएको हो । डिभिजन बन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले भन्नुभयो – ५ हेक्टर माथि बन क्षेत्र खाली गर्नु पर्दा ईआइए (वातावरणीय प्रभाव मूल्याङ्कन )गर्नुपर्छ । बनले ११ दशमलव १८५ हेक्टर क्षेत्रमा रुख रहेको प्रतिवेदन दिएको छ , पूर्वाधारले सिफारिस गरेको भन्दा बढी हेक्टर देखिएकाले कटान रोकिएको ठाकुरले बताउनु भयो ।बन क्षेत्रमा एउटा साझेदारी बन र दुई वटा सामुदायिक बन पर्छ ।   

कालोपत्रे गर्ने जिम्मा लिएको विनीता श्री निर्माण कम्पनीका सञ्चालक भीमबहादुर पौडेलले बन विभागले साइड खाली नगरेकोले पूर्वाधार विकास कार्यालय विराटनगरसँग समन्वय गरेरै कालोपत्रे गरेको बताउनु भयो ।  बनले कालोपत्रे गर्ने ठाउँका रुख काटेर समय मै साइड खाली गरिदिएको भए यति बेला सम्पूर्ण काम सम्पन्न हुने थियो । पौडेलले सडक क्षेत्रका रुख नहटाउँदा आफ्नो करोडौँ लगानी खेर गएको बताउनु भयो । सब वेश र बेस दोहोर्‍याएर लगाउनु परेको उहाँको भनाई छ ।  

सडक क्षेत्रमा ५४३ वटा रुख छन् । जसमध्ये पथरी–जाँते क्षेत्रमा २११ वटा रुख पर्छन् । सडकका बिचमा भएका रुख नहटाउँदा सो सडक भएर यात्रा गर्नेले उच्च जोखिम ब्योहोर्नु परिरहेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मार्फत ०७९ असोज भित्र सम्पन्न गर्ने गरी १९ दशमलव ६ किलोमिटर लम्बाइ र २२ फिट चौडाइको ५० एमएमको  अस्फल प्रविधिबाट  कालोपत्रे गरिने उक्त सडक ७२ करोड ५० लाख रुपियाँमा  टेन्डर आह्वान भएको थियो ।

श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौँले २५ प्रतिशत कम बोलकबोल गरी भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपियाँ ९६ पैसामा ठेक्का पाएको थियो । तर, श्रेष्ठ कन्स्ट्रक्सने पनि सडक निर्माण गर्न विनिता श्री निर्माण कम्पनीलाई जिम्मा दिएको थियो  । 

प्रदेश सरकारले पथरी देखि जाँते सम्मको ११ किलोमिटर वन क्षेत्रको सडकलाई ७ मिटर चौडाइको,जाँते देखि फेदी सम्म ११ मिटर चौडाइको र   पहाडी भेगको ७ किलोमिटर क्षेत्रमा ५ दशमलव ५ मिटर चौडाइको  कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएको थियो ।तर,सडक किनारका रुख नहटाउँदा कतै पनि सडक मापदण्ड अनुसारको बनेको छैन ।