• ४ जेठ २०८१, शुक्रबार

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

blog

नवलपरासी समाचारदाता 

देवचुली, साउन ३० गते । देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन्। गत पुस ३० गते विघटन विद्यालय व्यवस्थापन समिति विघटन भएको थियो। जसका कारण विद्यालय अस्तव्यस्त बन्न पुगेको छ। 

रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताउनुभयो। 

यो सामुदायिक विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा परिचित छ। पूर्वअध्यक्ष सूर्य न्यौपानले राजनीतिक विवादले व्यवस्थापन समिति गठन हुन नसकेको बताउनुभयो। उहाँले विद्यालयको आर्थिक प्रशासन ठप्प रहेको उल्लेख गर्नुभयो।

त्यसको प्रत्यक्ष मारमा विद्यालयमा अध्यापनरत शिक्षक परेको गुनासो छ। विद्यालयकी लेखापालले स्थायी शिक्षकमा नाम निकालेर अन्यत्र सरुवा भएपछि विद्यालयको आर्थिक गतिविधि अहिले ठप्प छ।  

लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट तलबलगायतको रकम निकासा हुन्छ। लेखापाल नियुक्तिका लागि समितिले निर्णय गरी आवेदन आह्वान गर्नुपर्ने हुन्छ तर विद्यालयमा समिति निर्माणमा राजनीतिक स्वार्थ राखी दाउपेच गरेपछि आठ महिनादेखि विद्यालय समितिविहीन छ। विद्यालयमा कार्यरत शिक्षकले छ महिनादेखि तलब पाएका छैनन्। 

तलब नपाएर पीडित बनेका शिक्षकहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्। प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले समिति निर्माणका लागि हदैसम्मको प्रयास गर्दा पनि सफल नभएको बताउनुभयो। 

भण्डारीले देवचुली नगरपालिकाको शिक्षा शाखाले समिति निर्माणलाई पूर्णता नदिने हो भने आफूले राजीनामासमेत गर्ने बताउनुभयो। नगर प्रमुख हरि न्यौपानेले कुनै हस्तक्षेप नगरेको दाबी गर्नुभयो।