• १२ मंसिर २०८१, बुधबार

अस्पतालका लागि नगरपालिकाको सभाहल

blog

काठमाडौँ,  साउन ३० गते ।  नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।

अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उहाँले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताउनुभयो । उहाँले  गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिएको जानकारी दिनुभयो । 

नगरप्रमुख रिसालले सात सय ५३ स्थानीय निकायमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने पहिलो निकाय भएको बताउनुभयो । उहाँले अस्पतालसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताउनुभयो । 

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो । उहाँले अस्पतालले उपलब्ध गराएको सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी गराउनुभयो  । सो अवसरमा निःशुल्क साधारण बहिरङ्ग सेवा (ओपिडी) सेवा, यसैगरी रक्तदान तथा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई  फलफूल वितरणसमेत गरिएको थियो । रासस