• १३ असोज २०८१, आइतबार

कर्णाली र महाकालीको जलस्तर बढ्यो

blog

कञ्चनपुरमा बग्ने महाकाली नदीमा बढेको जलस्तर ।

सुदूरपश्चिम प्रदेश ब्युरो 

धनगढी, साउन ३० गते । लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्तव्यस्त बनेको छ । तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएसँगै पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो । सात जिल्ला जोड्ने यस राजमार्गको गोदावरी नगरपालिका–४ स्थित भावर सडकखण्ड क्षेत्र केही दिनदेखि अवरुद्ध छ । केही दिनपहिले सडक खुलाइए पनि वर्षाका कारण पुनः अवरुद्ध भएको छ । त्यस्तै महाकाली र कर्णाली नदीको जलस्तर बढेपछि नदी किनारा तथा तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयवासीले नदीमा पानीको बहाव बढेसँगै बाढीले मानव बस्ती तथा जमिन कटान गर्न थालेकाले ढुवानको समस्या देखिएको बताएका छन् । 

कैलालीको भजनी नगर क्षेत्रका विभिन्न बस्ती डुबानमा पर्दा स्थानीयले जोखिमपूर्ण जीवनयापन गरिरहेका छन् । विपत् प्रभावितहरूको पुनस्र्थापनासँगै उद्धार तथा राहत वितरण कार्यमा स्थानीय सरकारले तदारुकता नदेखाएको गुनासो बढेको छ । 

धनगढी समाचारदाताका अनुसार गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रमा अवरुद्ध भएको राष्ट्रिय राजमार्ग खुले पनि निर्बाध रूपमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । वर्षा भएसँगै सडक हिलाम्मे छ । यातायातका साधन सञ्चालनमा समस्या थपिएको छ । पहिरो गएको ठाउँ दलदल भएकाले निर्बाध रूपमा सवारीसाधन चलाउन समस्या भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पीयूष चटौतले जानकारी दिनुभयो । धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली हुँदै पहाडी जिल्ला जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) पाँच दिनसम्म पूर्ण रूपले अवरुद्ध भएको छ । 

शनिबार साँझबाट एकतर्फी सञ्चालनमा आए पनि कहिले माथिबाट त कतिखेर माथिबाट पहिरो खस्दा समस्या भएको छ । केहीबेर गाडी चलेमा फेरि सडक बिग्रिने गरेकाले सवारीसाधन रोकेर बिग्रेको बाटो बनाउने र फेरि गन्तव्यतिर पठाउने कार्य भइरहेको सूचना अधिकारी चटौतले बताउनुभयो । 

पानी पर्ने क्रम नरोकिएको र भावरस्थित छ सय मिटर क्षेत्रमा दलदल भएका कारण गाडी निर्बाध सञ्चालनमा समस्या भइरहेको जनाइएको छ । सवारीसाधनलाई जेसिबीको सहयोगमा गन्तव्यतर्फ पठाउने कार्य भइरहेको गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताउनुभयो । 

“अगाडिबाट एउटा जेसिबीले तान्ने र पछाडिबाट अर्को जेसिबीले धकेलेर गाडी पास गराउने कार्य भइरहेको छ,” वडाध्यक्ष मल्लले भन्नुभयो, “तर दलदलका कारण त्यो नि सहज छैन । जोखिम कायमै रहेको छ ।” हिलाम्मे, दलदल भएको ठाउँमा गिट्टीले पनि काम नलागेको उहाँले बताउनुभयो ।

भीमदत्त राजमार्गमा दलदल र हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । “पानी परिरहेका कारण हिलोका कारण बिचमै सवारीसाधन फसिरहेका छन्,” उहाँले भन्नुभयो, “पूर्ण रूपमा अझै पनि राजमार्ग सञ्चालनमा आएको छैन ।”

भारतले धौलीगङ्गा बाँध खोल्दै 

दार्चुला समाचारदाताका अनुसार भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको छिलकिल्लास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार एक सूचना जारी गरी बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गा बाँधका ढोका खोल्ने जानकारी दिएको हो । भारतीय प्रशासन र जलविद्युत् परियोजनाले सिल्ट सरसफाइको कार्य गर्ने धौलीगङ्गा बाँधका ढोका खोल्न लागेको भन्दै नेपाली प्रशासनलाई जानकारी गराएको हो । बाँध खोल्दा महाकाली नदीको जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । 

व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिका–३, लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले अनुरोध गरेको उहाँले बताउनुभयो । धौलीगङ्गा बाँध खोल्दासहित बैतडी, डडेलधुरा र कञ्चनपुरमा समेत महाकाली नदी तटीय क्षेत्रमा जलस्तर बढ्ने बताइएको छ । भारतले धौलीगङ्गा नदीमा ठूलो बाँध बनाएर २८० मेगावाट जलविद्युत् उत्पादन गरेको छ । भारतले बर्खाको समयमा बाँधका ढोका खोल्दै आएको छ । २०७० सालमा दार्चुला सदरमुकाम खलङ्गा बजार बगाउने गरी बाढी आउँदा समेत धौलीगङ्गाका ढोका खोलिएको थियो । 

महाकाली नदीको जलस्तर खतरा 

कञ्चनपुर सामाचादाताका अनुसार महाकाली नदीको जलस्तर बढेपछि शारदा ब्यारेजमा रहेको वनबासा पुलमा सवारीसाधनको आवतजावत बन्द गरिएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि सवारीसाधन आवतजावतमा बन्देज लगाइने गरिएको छ । आइतबार बिहान ५ बजेदेखि महाकाली नदीको जलस्तर बढ्न सुरु भएको हो । पानीको बहाव एक लाख ८३ हजार ९५० क्युसेक पुगेको छ र जलस्तर बढ्ने क्रममै रहेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान महाशाखाले पानीको मात्रा खतराको तह नजिक पगेको जनाएको छ । 

विभागको डडेलधुरास्थित परिगाउँमा पानीको बहाव ६.८४ मिटर मापन गरिएको छ । सो ठाउँमा जलस्तर सात मिटर पुगेमा खतराको तह मानिन्छ भने ५.८ मिटरमै सतर्कताको तह मानिन्छ । अहिले महाकाली नदीको तटीय क्षेत्रमा वर्षा भइरहेको छ । दार्चुलामा पछिल्लो २४ घण्टामा ५२.८, बैतडीमा ५० र डडेलधुराको जोगबुडामा ९३.६ मिलिलिटर वर्षा भएको विभागको प्रणालीले देखाएको छ ।

झोलुङ्गे पुलबाट आवतजावत बन्द

मार्तडी समाचारदाताका अनुसार लगातारको वर्षाले कर्णाली नदीमा पानीको बहाव बढेको छ । बाढीले नदी किनारको छेउछाउमा रहेका बस्ती उच्च जोखिममा छन् । नदी किनारका बस्तीसहित कर्णाली नदीमाथि हालिएका झुलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ । कर्णाली नदीको पानीको सतह बढेपछि पुलबाट आवतजावत गर्न केही कठिनाइ भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । पानीको बहाव झुलुङ्गे पुलसम्म पुगेको छ । त्यस्तै नदी किनाराका बस्तीलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन आग्रह गरिएको छ । अध्यक्ष रोकायाका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथिको भैसागाड झोलुङ्गे पुल बगाएको छ । 

पुल बगाउँदा साप्पाटाका एक हजार घरपरिवार बजारको पहुँचभन्दा टाढा भएका छन् । कर्णाली नदी पारि बाजुराका बाई बाधु जोड्ने पुल, गोत्री, साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने दर्जन पुल जोखिममा रहेको स्थानीय उमेश रोकायाले बताउनुभयो । कर्णाली नदीमा पानीको सतह बढिरहेकाले सबैलाई सर्तक रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो । प्रजिअ खड्काका अनुसार कर्णाली नदीलगायत स्थानीय नदी तथा खोलामा पानीको सतह बढेको भन्दै सतर्क रहन सूचना जारी गरिएको छ । 

दर्जन बस्ती जोखिममा 

डडेलधुरा समाचारदाताका अनुसार महाकाली नदीले गर्ने कटानका कारण डडेलधुराको भित्री मधेश क्षेत्रका दर्जनौँ बस्ती उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाको कटानका कारण दर्जन बस्तीहरू विपत्को उच्च जोखिममा रहेका छन् । महाकाली नदीको किनारामा रहेको प्रसिद्ध परशुराम धाम महाकाली नदीमा पानीको बहाव बढेपछि सङ्कटमा पर्दै गएको छ । महाकालीसहित रङ्गुन नदी, सादनी खोला, पन्तुरागाँड र शीर्ष गाँडसहितका खहरे खोलाका कारण बस्तीहरू जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुडाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । 

परशुराम नगरपालिका–५, ६ र ७ का अधिकांश गाउँबस्ती महाकाली नदीको उच्च जोखिममा रहेको परशुराम नगरपालिकाका उपप्रमुख विमला महतोले बताउनुभयो । महाकाली नदीबाहेक अन्य खोलानाला तथा तटीय क्षेत्रमा रहेका तीन दर्जन बस्तीहरूमा बर्सेनि बाढीले क्षति पुगाउने गरेको छ । महाकाली नदी किनारका खेतीयोग्य सयौँ हेक्टर जमिन कटान हुँदै आएको परशुराम नगरपालिका–६ का वडाध्यक्ष कर्णबहादुर धामीले बताउनुभयो । एक दशकयता मात्रै महाकाली नदी छेउका आधा दर्जन बस्तीमा १० हजार हेक्टर बढी उब्जाउ जमिन बगर बनिसकेको धामीले जानकारी दिनुभयो । 

गाउँ जोगाउन खोला फर्काइँदै 

आलिताल गाउँपालिका–८, सुनखोलामा एक्साभेटर लगाएर बस्ती जोगाउने कार्य भइरहेको छ । बर्सातका कारण खोलामा पानीको बहाव बढेसँगै बस्ती जोखिममा परेपछि खोला फर्काइ बस्ती बचाउने काम भइरहेको छ । साउन २४ गतेदेखिको अविरल वर्षाका कारण आलितालका विभिन्न क्षेत्रमा ठूलो क्षति गरेको छ । यहाँको गोदाम र घुम्ती गाउँ सुनखोलाको जोखिममा रहेपछि एक्साभेटर लगाएर खोलाको मोड परिवर्तन गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताउनुभयो । 

आलिताल–८, घुम्तीका बासिन्दाले बर्सेनि बाढीको समस्या झेल्दै आउनुभएको छ । वर्षायाममा बाढी आउन थालेपछि उहाँहरू आरामले सुत्न सक्दैन । हिउँदमा पानीको थोपोसमेत नभेटिने सुनखोला वर्षायाममा उर्लिएर आउँछ, मनपरी ढङ्गले जता मन लाग्यो उतै बगेर क्षति गराउँछ, स्थानीय शर्मानन्द जोशीले समस्या पोख्नुभयो । उहाँका अनुसार सुनखोलाकै भरमा परेर किसानले धानबाली लगाउने गर्छन् तर बर्सातमा सोही खोलाले सिँचाइ कुलोसमेत बगाउँदा किसान मारमा पर्ने गरेका छन् । 

अहिले सुनखोलामा एक्साभेटरले खोला फर्काउने काम गरिरहेको छ । लगातार पानी परेकाले खोला बस्तीमा जान नदिन वैकल्पिक नहर बनाएर पश्चिमतर्फ रहेको रङ्गुनखोलामा झार्ने प्रयास अगाडि बढेको छ । बर्सातमा मात्र आउने खहरे खोलाले मानवीय तथा भौतिक क्षति गर्दै आइरहेको छ ।