• २० असोज २०८१, आइतबार

सप्तकोशी नदीमा पानीको बहाव घट्दै

blog

इनरुवा,  साउन २९ गते । पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 

ब्यारेजको ५६ वटै ढोका खोलिएको उहाँले बताउनुभयो । आज बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । 

कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उहाँले बताउनुभयो । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । 

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भएका थिए । 

त्यसबेला सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय विस्थापित भएका थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुई लाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने नौ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव धान्न सक्ने रहेको जनाएको छ । रासस