• १४ मंसिर २०८१, शुक्रबार

दुई दिन अवरुद्ध मदनभण्डारी राजमार्ग सञ्चालनमा

blog

कटारी (उदयपुर),  साउन २९ गते । अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । 

राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुल नजिकैको भित्ता नै पहिरो गएपछि अवरुद्ध सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । 

कार्कीका अनुसार आज साँझदेखि एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधनहरू गन्तव्यतर्पm लागेका छन् । “एकतर्फी सञ्चालनमा आएको छ, भोलिदेखि पूर्णरूपमा सञ्चालनमा आउँछ”, उपरीक्षक कार्कीले भन्नुभयो, “आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो ।”

गाईघाट–दिक्तेल सडक आयोजनाको एउटा लोडर, उदयपुरगढी गाउँपालिका र लामा शर्मा जेभीको जेसिवीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको थियो  । 

मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीलाई गाईघाटदेखि लहान हुँदै बर्दिवासतर्पm पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्व पठाइएको थियो । रासस