• ५ जेठ २०८१, शनिबार

भेरी नदी र जगदुल्ला नदीको बहाव बढेपछि त्रिवेणीमा पुल निर्माण कार्य अवरुद्ध

blog

रुकुमपश्चिम, जाजरकोट र डोल्पाको त्रिसाँध त्रिवेणीमा निर्माणस्थलमा नदी पसेपछि अवरुद्ध बनेको निर्माणाधीन पक्की पुल । तस्बिर विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा,साउन २९ गते । त्रिवेणीमा क्याराभान कन्स्ट्रक्सनले गरिरहेको पक्की पुलको निर्माण कार्य अवरुद्ध भएको छ । पुल निर्माणस्थलमा भेरीनदी र जगदुल्ला नदीको बहाव बढेर बाढीको उच्च जोखिम भएपछि निर्माण कार्य अवरुद्ध भएको हो ।

जगदुल्ला जलविद्युत कम्पनी लिमिटेले भेरी कोरिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न  क्याराभान कन्स्ट्रक्सनलाई टेण्डर मार्फत कामको जिम्मा दिएको थियो । डोल्पा जाजरकोट र रुकुम पश्चिमको त्रिसाँध डोल्पाको त्रिवेणीमा २०७७ सालमा निमार्ण कार्य सुरु गर्ने गरी क्यारभानले कामको जिम्मा पाएको थियो ।

तर क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्ष सम्म पनि निर्माण कार्य सुरु नै नगरी अलपत्र छाडेको पुलको निर्माण कार्यको जिम्मा पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनले लिएको थियो ।

अलपत्र पुलको  निर्माण कार्य दुई वर्षपछि रेट्रो ट्रेक कन्स्ट्रक्सनले कछुवा गतिमा सुरु गरेको भएपनि निर्माण कार्यमा भएको ढिलाइले गर्दा बर्षातमा भेरी र जगदुल्ला नदीको बहाव बढेपछि निर्माण कार्य थप अवरुद्ध भएको छ । पन्ध्र करोड रुपिँयामा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो ।

क्यारभान कन्स्ट्रक्सनवाट चौध करोड सत्र लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्ट्रक्सने पछिल्लो समय पुलको निर्माण कार्य सुरु गरे पनि पुलले भने खासै गति लिन नसकिरहेको बेला भेरीनदीको बहावले अवरोध गरेपछि निर्माण कार्य अझै पछि धकेलिने भएको छ ।

आर्थिक मसान्त सकाएर रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फबाट योजना निर्माणस्थलमा खटिएका सब इन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल सहितको कर्मचारी समूह साइट कार्यालयमा एक जना कर्मचारीलाई हेरालो राखेर काठमाडौँ हानिएको छ ।

पुलको बेस बनाउने निर्माण सामाग्री जम्मा गर्नुका साथै तटबन्ध निर्माण कार्य भइरहेको बेला भेरी र जगदुल्ला नदीको बहाव बढेर निर्माण स्थलमा समेत भेरी नदी पसेकाले काम अवरुद्ध भएको जगदुल्ला हाइड्रो पावर कम्पनीका कर्मचारी सुमन बिसीले बताउनुभयो ।उहाँले भन्नु भयो भेरीनदीको बहावले निर्माण स्थलसम्म सामाग्री लिने कुनै ठाउँ छैन ।

पुलको निर्माण कार्य ढिलाइ हुँदा निर्माणाधीन १०६ मेघाबाटको जगदुल्ला हाइड्रोपावरको निर्माण कार्य समेतमा बाधा पुगी रहेको हाइड्रोपावरले जनाएको छ ।