• १४ मंसिर २०८१, शुक्रबार

शरीरभरि गोलीका छर्रा गाईगोठ गौरवको दिनचर्या

blog

बोमलाल गिरी 

नवलपुर, साउन २९ गते । त्यो जिन्दगीको सबैभन्दा ठुलो अविस्मरणीय घटना थियो तर अब त मिति पनि बिर्सिन थालिए छ, पूर्वकम्पनी कमान्डर गौरव राउत भन्नुहुन्छ। २०५९/६० सालतिरको कुरा होला, माओवादी लडाकुको एउटा कम्पनी जुम्लाको जङ्गलमा हिँड्दै गर्दा नेपाली सेनाको घेराबन्दीमा प-यो। सेनाले लडाकु देख्ने बित्तिकै फायर खोल्यो। गोली लागेर नौ जना घटनास्थलमै सहिद भए। शरीरभरि गोलीका छर्रा लागेका एक जना तिहाला खोलामा पौडी खेल्दै भाग्न सफल हुनुभयो। 

यस्ता घटना सम्झँदै जाने हो भने फेहरिसस्त लामै बन्छ। त्यति बेला बोकेका गोलीका छर्रा केही निकालियो, केही अझै पनि बाँकी छन्। काम नगरी बसिरहने हो भने शरीर झम्झमाउँछ, लाटो हुन्छ र प्यारालाइसिस होला कि भन्ने डर छ। त्यसैले गौरव राउत अहिले जतिबेला पनि बारीमा कि गाईगोठमा भेटिनुहुन्छ। जुम्ला तातोपानी गाउँपालिकाका राउत अहिले नवलपुरको कावासोती–७, साँढमा बस्दै आउनुभएको छ। गलामा भिरेको गम्छाले निधारको पसिना पुछ्दै रावतले भन्नुभयो, “भारी बोक्न, धेरैबेर बस्न मिल्दैन, काम गरिरहँदा शरीर तातेर पीडा कम हुँदो रहेछ। 

उहाँको गोठभरि गाई छन्। १५ कट्ठा जमिनमा फौलिएका तीन वटा ठुला पोखरीमा माछा छन्। यसले उहाँलाई हरेक समय व्यस्त राखेको छ। गाईको दुध बेचेर मासिक डेढ लाखभन्दा बढी कमाइ भएको छ। धान खेतीभन्दा माछापालनबाट तेब्बर बढी आम्दानी हुन्छ। परिश्रम बढी छ तर जीवन आनन्दले बितेको छ। 

श्रीमती र दुई छोराछोरीसहित साँढमा बसिरहनुभएका रावत जीवनका अन्तिम घडी जुम्लामै बिताउने सोचमा हुनुहुन्छ। बच्चाहरू शिविर (झ्याल्टुङडाँडा र हात्तिखोर) मा जन्मे। तराईमा जन्मेका बच्चालाई हिमालमा लगेर राख्न पनि गाह्रो, उनीहरूको पढाइका लागि यतै बसियो, रावतले भन्नुभयो, “अब छोराछोरी पनि ठुला भए, अन्तिममा जुम्ला नै फर्कने हो।” 

रावतले लडाकुबाट स्वेच्छिक अवकाश लिएपछि जुम्ला नफर्कनुको अर्को कारण पनि सुनाउनुभयो। उहाँले भन्नुभयो, “कावासोतीमा बसेर जुम्लाको अर्गानिक स्याउ, भटमास, सिमी आदिको व्यापार गर्ने र काठमाडौँ, पोखरा, विराटनगरजस्ता सहरमा पास गराउन सकिन्छ भनेर काम सुरु गरियो। हामी जस्ता सोझासादालाई व्यापार गर्न गाह्रो रहेछ। सामान लगेको पैसा दिँदा रहेनछन्। बेकारमा काम गरेर पैसा फसाइयो। सात/आठ लाख रुपियाँ उठ्न बाँकी छ। अब त पैसा उठ्ला भन्ने आस पनि मरिसक्यो।”

गोबरमा काम गर्नुपर्ने र माछा पोखरीमा आउजाउ गर्दा सर्पको डरले गर्मीमा पनि गम बुट लगाउनुभएका राउतका पाइला अब राजनीतिमा सक्रिय छैनन्। २०५५ सालदेखि २०६२ सालसम्म युद्धमा होमिनुभएका रावतलाई अहिलेको राजनीतिसँग न कुनै चासो छ न सक्रियता नै। भन्नुहुन्छ, “पहिले सत्य युगजस्तो थियो, अहिले पापी युगजस्तो छ। हामीसँगैका नेता अहिले चिल्लो गाडीमा हिँड्छन्, काठमाडौँका महलमा बस्छन्, कारणवश राजधानीमा भेट्न गइयो भने चेन गेट नखोली माथिल्लो तलाबाट को आयो ? के काम प-यो भनेर सोध्छन्।”

माओवादी पार्टीले युद्धका बेला जनतामा धेरै आश्वासन बाँडेको तर नेताहरूले त्यस अनुसार काम गर्न नसकेको उहाँको बुझाइ छ। विगतका दिनलाई मानसपटलमा राखेर रावत भन्नुहुन्छ, “अहिलेका नेतालाई हाम्रो पसिना गन्हाउँछ। हामीसँगै लगेका साथीहरू अहिले साउदी, कतार, दुवईका खाडीमा छन् कि ह्विल चेयरमा सडेका छन् भनेर नेतृत्वले कहिल्यै गाउँ फर्केर बुझ्ने काम गरेन।” अन्त्यमा लामो सास फेर्दै रावतले भन्नुभयो, “जनयुद्ध धनयुद्धमा बदलियो।”