अमृतप्रसाद पौडेल
म्याग्दी, साउन २९ गते । पछिल्ला वर्षमा जिल्ला अदालत मुस्ताङमा दर्ता हुने मुद्दाको सङ्ख्या बढ्दै गएको छ। नेपालको अन्य क्षेत्रमा भन्दा छुट्टै रहनसहन भएकाले मुस्ताङ अदालतमा मुद्दा दर्ता कम हुने गरेको थियो। मुस्ताङ जिल्लाभित्रका ९६ गाउँ तथा बस्तीमा मुखिया प्रथा अहिले पनि कायम नै रहेको छ। गाउँलेले चुन्ने मुखियाले धेरै काम गर्ने भएकाले मुद्दा दर्ताको क्रम कमै हुने गरेको थियो।
हरेक गाउँमा हुने मुखियाले गाउँका हरेक घटना तथा विवादमा गाउँलेकै रोहबरमा मिलाउने गर्दा अदालतसम्म उजुरी पुग्दैनथे। घरपझोङ गाउँपालिका–२, मार्फाका दीपक लालचनले पछिल्लो समय मुखियाले नै सामान्य प्रकृतिका घटना मिलाउने प्रयास गरे पनि अन्य घटनाको किनारा लगाउन अदालत जान सुझाव दिने गरेको उल्लेख गर्नुभयो।
आर्थिक वर्ष २०७६/७७ मा जिल्ला अदालत मुस्ताङमा १८ थान मात्रै मुद्दा दर्ता भएका थिए तर गत आव २०७९/८० मा अदालतमा ४५ थान मुद्दा दर्ता भएका छन्।
गएको आव मुस्ताङ जिल्ला अदालतमा सबैभन्दा धेरै मुद्दा दर्ता भए र फस्र्याेट पनि भएका छन्। जिल्ला अदालत मुस्ताङका अनुसार गत वर्ष अदालतले ३५ थान मुद्दा फस्र्योट गरेको हो। आव २०७८/७९ मा ३२ थान मुद्दा फस्र्योट भएका थिए। जिल्लामा मुद्दा सङ्ख्या बढ्दै जाँदा सोही अनुपातमा किनारा लाग्ने क्रम बढेको हो।
बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१ का वडा सदस्य एवं पूर्वमुखिया पेमाछिरिङ गुरुङ ग्रामीण भेगसम्मको यातायातको पहुँच तथा जिल्ला बाहिरका नागरिकको पनि मुस्ताङमा अस्थायी बसोबास बढ्दा अदालतसम्म पुग्ने घटनाको सङ्ख्या बढेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “मुखियाले सामान्य घटना मिलाउने हो, अहिले पछिल्लो समय बलात्कार, हत्याजस्ता घटना हुन थालेपछि त्यस्ता घटना स्वाभाविक रूपमै अदालतले हेर्ने हो।” मुखियाले केही सामान्य प्रकृतिका मात्रै घटनाको सहजीकरण गरेर राज्यलाई नै सहयोग गर्छन्। जटिल प्रकृतिका घटनाका सम्बन्धमा मुखियाले अदालत जान प्रोत्साहन गर्ने गरेको उहाँको भनाइ छ।
जिल्ला अदालत मुस्ताङका स्रेस्तेदार सूचना अधिकारी उपसचिव मुकुन्द आचार्यले १० वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको बताउनुभयो। गत वर्ष मुस्ताङ अदालतमा दर्ता भएका ४५ मुद्दा दर्ता भएका थिए।