राममणि दाहाल
हेटौँडा, साउन २८ गते । शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।
त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–९ स्थित लामिडाँडामा पहिरो आएर राजपथ आइतबार बिहानैबाट अवरुद्ध बनेकोमा पहिरो पन्छाएर दिउँसोबाट सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, कुलेखानी–सिस्नेरी–काठमाडौँ मार्गको मकवानपुर इन्द्रसरोवर गाउँपालिका–२ छेपारेस्थित सडक खण्डमा वर्षाका कारणले पहिरो खसेर उक्त माग अवरुद्ध बनेको छ । प्रहरीका अनुसार आइतबार बिहान ७ः४५ बजेको समयमा आएको पहिरो अधिक वर्षाका कारण तत्काल पन्छाउने अवस्थामा छैन ।
यस्तै, इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित सडक खण्डमा आइतबार बिहान अत्यधिक वर्षाका कारणले पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय सडक अवरुद्ध भएको हुँदा उक्त सडक खण्ड हुँदै जाने सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।कान्ति लोकपथको ललितपुरतर्फको सडक खण्डमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।