• २८ फागुन २०८१, बुधबार

झापाको बिर्तामोडमा झगडा : युवा सङ्घका नेतासहित तीन जना घाइते

blog

युवा सङ्घका केन्द्रीय सदस्य आङदेम्बेकाे बिएण्डसी अस्पतालमा उपचार हुँदै । तस्बिर: लीला

लीलाराज खड्का 

बिर्तामोड, फागुन २७ गते ।  झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् ।

सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे(राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् । 

घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको  इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  घाइते आङदेम्बे एमाले कार्यकर्ता खगेन्द्र खालिङको घरमा  राती १ बजे गएका थिए त्यहाँ विवाद हुँदा खालिङले तरबार प्रहार गरेका थिए । घाइते आङदेम्बेलाई रोक्न खोज्दा अर्का घाइते अजय खवासको हातको ४ वटा औँला काटिएको छ ।

खवासको शरीरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको युवा सङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका पर्वतराज भण्डारीले बताउनुभयो ।  यता अर्का घाइते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा  दरबार रेष्टुरेन्टबाट ओर्लिनसाथ मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरी घाइते बनाएका छन्  । घाइतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

झगडामा सामेलहरू सबै जना एक अर्काका मिल्ने साथी भएको बुझिएको छ । उनीहरूबिच आर्थिक लेनदेनको विषयले झगडा परेको हो या राजनैतिक कारणले हो यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।