तिलाचन पाण्डे
तम्घास, फागुन २७ गते । आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा गुल्मीमा अनेरास्ववियु र नेविसङ्घले तालमेल गर्ने भएका छन् ।
अनेरास्ववियु गुल्मीका अध्यक्ष आशिष गौतम र नेविसङ्घका जिल्ला सभापति सिजन रानाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जिल्लामा तालमेल गरेर जाने सहमति भएको उल्लेख छ । रिडी बहुमखी क्याम्पस, दिगाम आर्दश बहुमुखी, रुद्धावती बहुमुखी, धुर्कोट परमानन्द भण्डारी बहुमुखी, शृङ्गेश्वर बहुमुखी क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको छ ।
यस्तै रेसुङ्गा बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी, चन्द्रकोट बहुमुखी, मानका टीकाराम बहुमुखी, सत्यवती बहुमुखी र रुरु संस्कृत बहुमुखी क्याम्पसमा नेविसङ्घले नेतृत्व लिने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरुमा उपाध्यक्ष, सचिव र सहसचिव नेविसङ्घले लिनेछ भने नेविसङ्घले नेतृत्व लिएका क्याम्पसहरुमा उपाध्यक्ष, सचिव र सहसचिव अनेरास्ववियुले लिने सहमति भएको छ । अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरुमा अध्यक्ष र कोषाध्यक्षसहित बहुमत सदस्य लिने, नेविसङ्घले नेतृत्व लिएका क्याम्पसहरुमा अध्यक्ष र कोषाध्यक्ष्यसहित बहुमत सदस्य लिने सहमति भएको छ ।
यस्तै, रुद्धावती क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिए पनि नेविसङ्घलाई बहुमत सदस्य दिने, सत्यवती बहुमुखी क्याम्पसमा नेवेसङ्घले नेतृत्व लिए पनि अनेरास्ववियुलाई बहुमत सदस्य दिने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यता अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष किसान पाण्डेले आफूहरुले छुट्टै प्यानल दर्ता गरेर अगाडि बढ्ने बताउनुभयो । सहमतिका लागि हरदम प्रयास गर्दा पनि दुई ठुला सत्ता साझेदार दलका भातृ सङ्गठनले नमानेका कारण आफूहरुलाई झन बलियो बनाएको उहाँको तर्क छ । उहाँहरुले सहमति गरेअनुसारका क्याम्पसहरु जित्ने सम्भावना नभएकाले केही क्याम्पसहरुमा आफूहरुले परिणाम निकालेरै देखाइदिने उहाँको दाबी छ ।