चौतारा समाचारदाता
चौतारा, फागुन २७ गते । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल तातोपानी धारामा सुविधा थप हुँदै गएको छ । भोटेकोशी गाउँपालिकाले तातोपानी धाराको विकास र प्रवर्धनमा काम सुरु गरेपछि सुविधा थपिएको हो ।
भोटेकोशी गाउँपालिका–२ मा रहेको तातोपानी धारामा भोटेकोशीको बाढी, विनाशकारी भूकम्पले क्षति पुगेको थियो । नेपालको उत्तरी सीमा क्षेत्रमा दुगुनागढी र तातोपानी ऐतिहासिक रूपमा परिचित छ ।
दैनिक सयौँ पर्यटकले स्नान गर्ने तातोपानी धारा स्थानीय सरकारले सुविधासम्पन्न बनाउन लागेको हो । नेपाललाई चीनसँग जोड्ने सीमा नाकामा रहेको तातोपानी धारालाई स्थानीय सरकारले पुनर्निर्माण गरी सुविधासम्पन्न बनाउन लागेको हो ।
अन्तर्राष्ट्रिय परिचय बोकेको तातोपानीमा नुहाउन आउने भक्तजन, छालाका रोगी तथा पर्यटकका लागि धारा पुनर्निर्माण गर्दै भोटेकोशी गाउँपालिकाले व्यवस्थित गर्न लागेको जानकारी दिएको छ ।
धारामा सीमित ‘बाथटप’ र खुला धारामा रहेकाले यसलाई विस्तार गर्न लागिएको हो । धाराको पुनर्निर्माण सम्पन्न हुँदा एकै पटक ४६ जनाले ‘बाथटप’ मा नुहाउन सक्ने छन् । “दुई वटा भवनमा बाथटप र धारा निर्माण गर्दै छौँ,” भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाले भन्नुभयो, “तातोपानीमा स्वेच्छिक रूपमा सुविधासहित नुहाउन मिल्ने गरी धाराको स्तरवृद्धि गर्दै छौँ ।”
भोटेकोशी गाउँपालिकाले आन्तरिक स्रोतबाट धारालाई व्यवस्थित गर्न आवश्यक स्रोत व्यवस्थापन गरी पुनर्निर्माण सुरु गरिएको हो । तातोपानी धारामा स्नान गर्न छिमेकी मुलुक चीन र भारतबाटसमेत आउने गरेको शेर्पाले जानकारी दिनुभयो । तातोपानी धारा पुनर्निर्माणमा भोटेकोशी गाउँपालिकाले तीन करोड रुपियाँ आन्तरिक स्रोत व्यवस्थापन गरेको जानकारी दिएको छ ।
भोटेकोशीको बाढी र भूकम्प जानुअघि तातोपानीमा आउनेको चाप धेरै हुने गरेको स्थानीय भक्त श्रेष्ठले बताउनुभयो । “पहिले नुहाउन आउनेहरू दुई÷तीन दिन बसेर फर्किन्थे, पहिलाको भन्दा तातोपानी धारामा धेरै राम्रो व्यवस्थापन हुँदै आएको छ । सडक राम्रो भए अझै पर्यटक बढ्छन्,” श्रेष्ठले भन्नुभयो । “धारा, विश्रामस्थल र शौचालयको पुनर्निर्माण गरिएको छ,” भोटेकोशी गाउँपालिका–२, तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार केही दिनमा निर्माणका सबै काम सम्पन्न हुने छ । भोटेकोशी बाढीले क्षति पु¥याएको तातोपानी धाराको पुनर्निर्माणमा यसअघि बागमती प्रदेश सरकारले सहयोग गरेको थियो । निर्माण कम्पनीले चैत ३ गते गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार धारालाई व्यवस्थित गर्दै नुहाउन आउने तथा पर्यटकका लागि चिया, कफिसहितको चमेना गृह व्यवस्थापन हुँदै छ । तातोपानी धारामा हरेक कात्तिक र चैत महिनामा एक महिनाभर मेला लाग्ने गरेको छ ।