चितवन, फागुन २७ गते । भरतपुर केन्द्रीय अस्पतालमा मुटुका बिरामीका लागि सेवा विस्तार गर्ने तयारी गरिएको छ । सबै प्रकारका बिरामीको चाप अत्यधिक हुन थालेपछि मुटुका बिरामीका लागि क्याथल्याब सञ्चालनको तयारी थालिएको हो ।
अस्पतालमा अहिले दैनिक दुई हजार पाँच सय जना बिरामीले सेवा लिँदै आएका छन् । यीमध्ये मुटुका बिरामीको सङ्ख्या वृद्धि हुनथालेपछि क्याथल्याबको आवश्यकता महसुस गरेर सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “अबको एक महिनाभित्र हामीले क्याथल्याब सञ्चालन गर्ने तयारी थालेका छौँ,” उहाँले भन्नुभयो, “अहिले उपकरण जडान कार्य भइराखेको छ ।”
“क्याथल्याबका लागि आवश्यक एउटा सामग्री छुटेको छ, त्यो नआउँदासम्म सञ्चालन गर्न सकिँदैन,” मेडिकल सुपरिन्टेन्टेन्ट प्राडा. पौडेलले भन्नुभयो । “सामान नआउँदासम्म तयारी पूरा गर्छौं । अस्पतालले चैत २५ गते वार्षिकोत्सव मनाउँदै छ । यही समयमा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको छ,” उहाँले भन्नुभयो ।
क्याथल्याब जडानका लागि उपकरणमा ११ करोड ५० लाख रुपियाँ खर्च गरिएको छ । भौतिक निर्माणसहित १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिन्टेन्डेन्ट पौडेलले जानकारी दिनुभयो । अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक कार्यरत हुनुहुन्छ ।
क्याथल्याब सञ्चालनमा आएपछि
‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुने छ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लास्ट’, ‘पेसमेकर’ जडानलगायत सेवा दिन सकिने अस्पतालले जानकारी दिएको छ । क्याथल्याब (मुटुका नसा, धमनी हेर्ने काम गरिन्छ) सञ्चालनमा आएपछि मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने अस्पतालका मुटुरोग विशेषज्ञ डा. मणि गौतमले बताउनुभयो । अहिले मुटुको बहिरङ्ग (ओपिडी) सेवा, इको वार्डलगायतका सेवा सञ्चालनमा रहेको छ । अस्पतालले मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना बनाएको उहाँले जानकारी दिनुभयो । मुटुको प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ आवश्यक पर्ने गर्छ ।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ । अस्पतालले एमआरआई, सिटिस्क्यानसहित विशिष्टिकृत सेवा दिँदै आएको छ । अस्पतालमा अलग्गै सरुवा रोग अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । अस्पतालमा राजधानीको थापाथलीस्थित प्रसूति केन्द्रको सेवापछि सबैभन्दा धेरै प्रसूति सेवा यहाँबाट लिने गरिएको छ ।
मिर्गौला, नसा, मुटु, व्रिmटिकल केयरसहित विशिष्टिकृत सेवा अहिले थपिएको भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । अर्थोपेडिक अन्तर्गतका विभिन्न सेवा, स्पाइलन कर्डलगायत दर्जनौँ उच्चस्तरीय सेवा अस्पतालले प्रदान गर्दै आएको छ । अब राजधानीमा हुने उपचार यही अस्पतालबाट हुने छ । सरकारले केन्द्रीय अस्पताल घोषणा गरेपछि थप सेवा विस्तार हुँदै गएको र अस्पतालमा सात सय शøया क्षमता रहेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ ।
भरतपुर अस्पतालले चिकित्सकसँगको परामर्शको लागि नयाँ अपोइन्टमेन्ट प्रणाली लागु गरेको छ । अस्पतालका मेसु प्राडा. कृष्णप्रसाद पौडेलले बिरामीले आफूले चाहेको चिकित्सकसँग परीक्षण गराउनका लागि अग्रिम बुकिङ गर्न सक्ने जानकारी दिनुभयो ।