राजन रावत
हुम्ला, फागुन २७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्ला जिल्लाबाट एक हजार १०४ जना विद्यार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ९५० जना र ग्रेड वृद्धितर्फ १५४ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश आलेमगरले यसवर्षको एसइई दिनेमा साधारणतर्फ कुल ८६१ जना रहेका छन् भने प्राविधिकतर्फ ८९ जना विद्यार्थी रहेको जानकारी दिनुभयो ।
यसैगरी ग्रेड वृद्धितर्फ साधारण र प्राविधिकगरी जम्म १५४ विद्यार्थी रहेका छन् । कुल विद्यार्थीमध्य छात्राको सङ्ख्या ६२७ रहेको छ भने छात्रको सङ्ख्या ४७७ रहेको छ । विद्यार्थीहरूमा छात्रभन्दा छात्राको सङ्ख्या १५० ले बढी रहेको छ ।
परिक्षाको तयारी पूरा
परिक्षाको सबै तयारी पूरा भएको छ । प्रश्नापत्र र उत्तर पुस्तिका समय मै जिल्लामा ढुवानी भएर आई पुगेपछि परिक्षा समन्वय समितिले एसइई परीक्षाको तयारी पूरा गरेको हो । एकाइ प्रमुख आलेमगरले यस पटकको एसइई परीक्षाको तयारी पूरा भएको बताउनुभयो ।
उहाँले प्रश्नापत्र, उत्तर पुस्तिका र प्रवेशपत्र जिल्लामा आई पुगेसँगै परीक्षाका अन्य तयारी समेत गरिएको बताउनुभयो । उहाँले केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष तोक्ने कार्य भइसकेको र टाढाको परिक्षा केन्द्र मदानादेभ र सूर्यादय मावि परीक्षा केन्द्रका लागि उत्तर पुस्तिका, प्रश्नापत्र र प्रवेश पत्र पठाउने कार्य समेत भएको प्रमुख आलेमगरले बताउनुभयो ।
त्यस अनुसार क्रमशः सबै परीक्षा सामग्री पठाउने कार्य पनि सुरु भइसकेको उहाँले बताउनुभयो । परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन परिक्षा अनुगमन समितिलाई पनि सकृय बनाउने कार्य हुने उहाँले बताउनुभयो ।
सात वटा परिक्षा केन्द्र निर्धारण
यस वर्षबाट एसइई परिक्षाका लागि सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यी परिक्षा केन्द्रहरूमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र र बाल मन्दिर मावि केन्द्र रहेका छन् भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र रहेको छ । यसैगरी, सर्केगार्ड गाउँपालिकामा हिमज्योति मावि सर्केगार्ड केन्द्र र कोट मावि रोडीकोट केन्द्र रहेका छन् । त्यस्तै, अदानचुली गाउँपालिकाको सूर्योदय मावि केन्द्र र ताँजाकोट गाउँपालिकाको मदानादेव मिाव केन्द्र रहेका छन् । यी परीक्षा केन्द्रमा जिल्लाका २७ वटा माविमा अध्ययनरत परीक्षार्थीले एसइई दिन लागेका हुन् ।