राधाकृष्ण डुम्रे
वालिङ, साउन २८ गते । चेम्बर अफ कमर्स गल्याङको अध्यक्षमा अर्जुन रानाभाट चयन हुनुभएको छ । संस्थाको साधारण सभा तथा दोस्रो अधिवेशनले रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा गठन गरिएको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा रुमलाल कँडेल, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ तथा उपाध्यक्षमा दलबहादुर सिंजाली चयन हुनु भएको छ । यस्तै, महासचिवमा हिमलाल भण्डारी, सचिवमा सुमित्रा खड्का, सहसचिवमा रमेशकुमार अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी राना र सहकोषाध्यक्षमा सुनिल विक चयन हुनुभएको छ ।
साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्नुहुँदै गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले विकासको गति दिन स्थानीय सरकार र उद्योगी तथा व्यावसायीहरु बीच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले स्थानीय व्यवसायीसँग सहकार्य गर्दै उत्पादन बढाउने उद्योग तथा उद्यमीहरूलाई सहयोग गर्ने नीति बनाएको छ ।”
कार्यक्रममा निवर्तमान नगरप्रमुख भूपराज अधिकारीले सानो कामबाट विकासको काम थाल्नुपर्ने बताउनुभयो । उहाँले कृषि उत्पादनलाई नै जोड दिन चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो ।
गल्याङ क्षेत्रको हितका लागि उद्योग वाणिज्य सङ्घ र चेम्बर मिलेर काम गर्न व्यावसायीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा गल्याङ नगरपालिका–३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, चेम्बर अफ कमर्स गण्डकी प्रदेशका उपाध्यक्ष श्रीप्रसाद गुरुङ, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, पाल्पा चेम्बर अफ कमर्सका अध्यक्ष वामदेव बस्याल लगायतले पछिल्लो समय व्यावसायीहरु आफ्नो व्यवसाय छोड्ने क्रम बढेको भन्दै राज्यले यसको निराकरणका लागि काम गर्नु पर्ने धारणा राखेका थिए ।