• १० मंसिर २०८१, सोमबार

निर्वाहमुखी कृषिलाई उकास्न प्रयासरत छौँ

blog

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा तीन गाउँपालिका रहेका छन्। हिमाली र साबिक रुकुम जिल्लाबाट छुट्याएर नयाँ जिल्ला बनेको रुकुमपूर्व विकास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, जनचेतनालगायत हरेक क्षेत्रमा अन्य जिल्ला भन्दा भिन्न छ। जिल्लाको सिस्ने गाउँपालिकाले स्थानीय बासिन्दाको आय बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गाउँपालिकाले पछिल्लो समयमा सञ्चालन गरेका आर्थिक तथा भौतिक प्रगति र योजनाका विषयमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीसँग गोरखापत्रकर्मी जयमान बुढामगरले गर्नुभएको कुराकानीको सारसङ्क्षेप।  


स्थानीय तहको दोस्रो निर्वाचन भएको पनि वर्ष दिन बितिसकेको छ, गाउँपालिकाले के कस्ता गतिविधि गरिरहेको छ ?

शिक्षा, यातायात, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर विकासका गतिविधि भइरहेका छन्। सम्झौता भएका विकासका कामलाई तीब्रता दिँदै सकिने जतिको सिस्नेवासीलाई गाउँमै सेवा दिने काम भइरहेको छ।  सिस्ने गाउँपालिकाका विभिन्न क्षेत्रलाई कृषि पकेट क्षेत्र घोषणा पनि गरेका छौँ । जस अनुसार वडा १ मा स्याउ तथा जडिबुटी खेती, २ र ५ मा बाख्रापालन र सुन्तला खेती, ३ र ४ मा केरा र मौरीपालन, वडा नम्बर ६ मा अलैची तथा ७ र ८ लाई सुन्तला पकेट क्षेत्र तय गरेका छौँ। अघिल्लो जनप्रतिनिधिले तय गर्नुभएको विकासको एकीकृत गुरुयोजना अनुसार काम भइरहेको छ। यस अघिका जनप्रतिनिधिको कार्यकालमा आधारभूत भौतिक पूर्वाधारको विकास भइसकेको छ। अब हाम्रो कार्यकाल शिक्षा, स्वास्थ्य, कृषि, यातायात, सञ्चार, खानेपानी, विद्युत् यी क्षेत्रको दिगोपना गराउने काममा लागि परेका छौँ। 


पालिकामा बजेट व्यवस्थानको अवस्था कस्तो छ ?

यस पटक देशभरीको आर्थिक मन्दी, तरलताका कारणले बजेटको आकार घट्यो। गत वर्षको बजेट ६२ करोडको बजेट थियो। यस पटकको ५२ करोडको बजेट छ। गत वर्षको भन्दा यस आर्थिक वर्ष १० करोडको बजेट कमी भयो। यसले गर्दा पुराना योजनामा असर र नयाँ योजना निर्माणमा ठेस पुगेको छ। आर्थिक मन्दीको सामना गर्दैछौँ। सेवा प्रवाहमा असर परेको नै छ। यसै बिचबाट सानो लगानीबाट परिणाममुखी काम गर्न खटिराखेका छौँ। स्थानीय बासिन्दाको आकाङ्क्षा धेरै छन्। माग असिमित हुने नै भयो तर बजेट सिमित हुने भएकाले विकास निर्माणका काम र जनताको माग अनुसार काम गर्न प्रयासरत छौँ। 

तीन तहका सरकारको समन्वय कसरी भएको छ ?

स्थानीय तह, प्रदेश र सङ्घ तीन सरकारका बिचमा समन्वयात्मक सहकार्यमा आधारित सङ्घीयता हो यो। सङ्घीय सरकारले अनुदान, बजेटको व्यवस्था, नीति निर्माण तहको व्यवस्था गरिदिने, प्रदेश सरकारले विषय विज्ञसहितको सहयोग प्रदान गर्ने र स्थानीय सरकारले जनतासम्म सेवा दिने भए उपयुक्त हुने थियो तर तीन तहको सरकारबिच एक आपसमा हुने सहकार्यमा अलि दुरी बढेको अवस्थाले विकास निर्माणमा समस्या देखा परेको छ। स्थानीय सरकारको आयस्रोतले मात्र जनताको माग पूरा गर्न सकिँदैन। चुलिँदो बेरोजगारी र गरिबी व्यवस्थापन गर्नका स्थानीय सरकारले एक्लै सक्दैन। समन्वयकारी भूमिका आवश्यक छ, तर आवश्यकता अनुसार हुन सकेको छैन।


सिस्ने गाउँपालिकामा अहिलेका प्राथमिकताका विषय के के हुन् ?

वडागत रूपमा प्राथमिकता रहेको छ। वडा नम्बर १ र २ मा यातायात पूर्वाधार विकासको आवश्यकता रहेको छ। विकासका आधारभूत आवश्यकता पहिलो शिक्षा र यातायात नै हो। पहिलो शिक्षालाई जोडबल गरेका छौँ। गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई गुणस्तर शिक्षा प्रदानमा जोड दिएका छौँ । 

यातायात पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेका छौँ। यातायात भएमा विकास निर्माणले सार्थकता पाउँदै जाने रहेछ। हाल यातायातको पहुँच भन्दा टाढा रहेको वडामा जनतालाई सेवा दिने काममा धेरै नै कठिनाइ भरहेको अवस्था छ। त्यस कारण शिक्षा र यातायातको गणुस्तरीय पहुँच पु-याउनमा प्राथमिकता दिएका छौँ। सडक मार्गलाई पूर्णता दिने काम प्रदेश र सङ्घ सरकारको हो तर सडक विस्तार र दिगोपनाको काममा ढिलासुस्ती भएको छ। यसलाई नियगमन र ताकेता गर्ने काम सम्बन्धित सरकारकै दायित्व हो। हालसम्म सडक पहुँचमा नभएका वडामा जनताले साह्रै नै दुःख, कष्टकर जनजीवन बिताइराखेका छन्। यो नागरिकको कष्टकर जीवनलाई बुझी प्रदेश र सङ्घ सरकारको ध्यान पुग्नुपर्ने आवश्यकता छ। 

यस क्षेत्रमा रहेको खानेपानीको समस्या कसरी समाधान हुँदैछ ?

नयाँ खानेपानी योजनाले पूर्णता नपाएकोले समस्या छ। रुकुमकोट लुस्पा लिफ्ट खानेपानी योजना, खोपीचार रुकुमकोट खानेपानी योजना निर्र्माण भइरहेको छ। करोडौँको योजनाले पूर्णता पाएको छैन जसका कारणले खानेपानीको ठुलो समस्या देखिएको छ। विगत एक वर्षदेखि हामीले सो समस्या समाधान गर्ने प्रयास गरिराखेका छौँ। हाल रुकुमकोटस्थित ११ वटा खानेपानी उपभोक्ता समिति रहेका छन् तर यी समिति आफ्नो काममा सक्रिय छैनन्। अब समितिलाई काममा सक्रिय गरी खानेपानीलाई दिगोपना गराउने काममा लागिरहेका छौँ। 

कृषि र पर्यटनको क्षेत्रमा के कस्ता काम भएका छन् ?

कृषि उत्पादनमा जोड दिइराखेका छौँ। कुन क्षेत्रमा के उत्पादन हुन्छ, त्यसमा किसानलाई अनुदान प्रदान गरिराखेका छौँ। आन्तरिक उत्पादनभन्दा बाह्य उत्पादनको हस्तक्षेपमा पर्ने गरेका छौँ। यस जिल्लामै कृषि उत्पादन जीवन निर्वाहका लागि मात्र हुने गरेको छ। कृषि उत्पादनमा कसरी वृद्धि गर्ने भन्नेमा कुरामा हामी लागिरहेका छौँ। निर्वाहमुखी कृषिलाई उकास्ने प्रयासमा छौँ। यस गाउँपालिकाको प्रख्यात पर्यटकीय गन्तव्य सिस्ने हिमाल, गुप्ता दह, कमल दह, सानीभेरी नदी, तातोपानी, देउराली गुफा, युद्ध स्थल, संस्कार, संस्कृति यी मुख्य पर्यटकीय स्थल हुन्। यसबाहेक अथाह पर्यटकीय स्थल छन्। यी पर्यटकीय स्थलको विकास र प्रचारप्रसारमा सरकारको लगानी भइरहेको अवस्था छ। पर्यटकीय रुट निर्माणको काममा लागेका छौँ। उक्त रुटमार्फत यस गाउँपालिकासँग जोडिएका सबै पर्यटकीय क्षेत्रको विकास हुने छ।