• २८ वैशाख २०८१, शुक्रबार

बाढीपहिरोबाट बच्न उच्च सावधानी

blog

काठमाडौँ, साउन २८ गते । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ। गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकाय उच्च सावधानीमा छन्। 

नेपालमा शनिबार बिहानैदेखि देशव्यापी रूपमा मनसुन पूर्ण सक्रिय भएकाले सबैतिर मध्यमदेखि ठुलो वर्षा भइरहेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनताको जिउधनको रक्षाका लागि प्राधिकरण, सुरक्षा निकायसहितका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रिबार भीषण वर्षाको सम्भावनासहितको पूर्वसूचना जारी गरेलगत्तै उहाँले सरोकारवाला निकायसँग निरन्तर परामर्श जारी राख्नुभएको छ। 

शनिबार पनि प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलसँग उहाँले वर्षा सुरु भएयता हालसम्मको अवस्थाबारे जानकारी लिनुभएको छ। पोखरेलले भन्नुभयो, “देशभर कहाँ के भइरहेको छ, के गरिरहेका छौँ भनेर जानकारी गराएका छौँ।” विपत् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहतका लागि इटहरी, भरतपुर, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टर परिचालन गरेर उद्धार गर्न तयारी अवस्थामा राखिएको छ। 

सातै प्रदेशमा उद्धार तथा तत्काल राहतका लागि आवश्यक डुङ्गा, डोरी, टेन्टलगायतका उद्धार सामग्री तथा राहत सामग्री भण्डारण गरिएको छ। जिल्लास्थित विपत् व्यवस्थापन समितिलाई आफ्नो जिल्लामा सम्भावित विपत्का लागि तयारी थाल्न भनिएको छ। 

पोखरेलका अनुसार यस वर्षाले मध्यनेपालका पहाडी भूभागमा विपत्को सम्भावना देखाएकाले पनि ती क्षेत्रका सम्भावित जोखिम क्षेत्र पहिचान गरेर उच्च सतर्कता अपनाइएको छ। विगतमा पहिरो गएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने, सम्भावित पहिरो जाने स्थानको राति पनि बारम्बार रेकी गर्ने र भेलपहिरोको सम्भावना भएका पहाडी भेगका बासिन्दालाई आलोपालो गरेर सतर्कता अपनाउने गरी सजग बनाइएको छ। 

पहाडमा धेरै वर्षा हुँदा तराईमा क्षति बढी पुग्ने भएकाले त्यहाँ पनि सुरक्षाको पहल गरिएको छ। तराईमा वर्षा हुँदा त्यहाँबाट डुबान हुन्छ तर पहाडमा वर्षा भयो भने त्यसको असर पहाड र तराई दुवैमा पर्ने भएकाले पनि दुवैतिर ध्यान केन्द्रित गर्नुपर्ने अवस्था छ। 

नदीको बहाव उच्च

जल तथा मौसम विज्ञान विभागका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ। शनिबार बिहानैदेखि देशव्यापी वर्षा सुरु भएकाले ठुला तथा साना नदीको बहाव बढेको छ। बाढी पूर्वानुमान शाखाले काठमाडौँलगायत धेरै क्षेत्रमा भीषण वर्षाको रेकर्ड भएकाले ती क्षेत्रका नदीनालाको बहाव बढ्दै गएको औँल्याएको छ। 

शाखाले सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका सानाठुला नदीमा शनिबार र आइतबार बहाव उच्च रहने भएकाले सतर्कता अपनाउन भनेको छ। यो क्रिम सोमबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस पटकको वर्षाको परिणामस्वरूप ठुला नदीहरू नारायणी, कर्णाली, बागमती, पूर्वीराप्ती, पश्चिमराप्ती, बबई, महाकाली, कोशीलगायत र तिनका सहायक नदीमध्ये केहीले सतर्कता तहको खतरा पार गर्न सक्ने सम्भावना छ। त्यसैले पनि तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र ती क्षेत्रमा कुनै पूर्वाधार निर्माण भएको भएमा तत्काल स्थगन गर्न भनिएको छ। वैशाखयता बाढीपहिरो र वर्षाका कारण ४९ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन्।