• २० असोज २०८१, आइतबार

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २७ गते । मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४, साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धार्मिक दृष्टिले प्रसिद्ध मानिने मानाभराको काखमा रहेको वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीका अनुसार यो पोखरी करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बिचमा एकान्त वातावरणमा रहेको पोखरी यति बेला पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ ।

निकै सुन्दर र आकर्षकसमेत देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि पोखरीको प्रवर्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा परिरहेको स्थानीयवासी बताउँछन् । 

पोखरीको प्रवर्धन र प्रचारप्रसार गर्न सकिए पर्यटकको बाक्लो उपस्थिति हुन सक्ने सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार मिक्वाखोला गाउँपालिका–४, साँबामै रहेको पर्यटकीय गन्तव्य फुङफुङ्गे झरना, वडा नं. ५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिने अवस्था छ ।

पर्यटकीय शृङ्खला अन्तर्गत तोक्पेगोला–लोदेन क्षेत्र, फुङफुङ्गे झरना तथा वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवर्धनको कार्य हुन नसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले भने आफ्नो नीति कार्यक्रममार्फत वाग्मा पोखरीलाई समेत समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हबका रूपमा विकास गर्ने गरी योजना बनाइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले पर्यटन प्रवर्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको थापाले बताउनुभयो । 

वाग्मा पोखरीसहितका पर्यटकीय स्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको तर सोचे अनुसार प्रगति नभएको पनि स्वकीय सचिव थापाले जानकारी दिनुभयो । वाग्मा पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पु-याउनुपर्ने र अन्य संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ । आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्न पूर्वाधारसमेतको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेल परेको छ ।

जिल्लाको एक पर्यटकीय स्थलका रूपमा रहेको वाग्मा पोखरी पुग्न सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ, लिबाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा बजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ ।