• १४ मंसिर २०८१, शुक्रबार

निगम प्रमुखमाथि डिजेल चोरीको आरोप

blog

नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालय । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २६ गते। जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिइयो। चोरी आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कबिहीन भएका छन्। 

पोखरा महानगरको गगनगौंडामा रहेको निगमको डिपोबाट लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा ट्याङ्करलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको ट्याङ्कर डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ। १२ हजार लिटर क्षमताको त्यो ट्यांकरमा थप तीन हजार लिटर इन्धन भरेर बिक्री गर्न पठाइएको थियो। जिल्ला प्रशासन, आयल निगम र नापतौल कार्यालयले संयुक्त रुपमा नापजाँच गर्दा तीन हजार लिटर बढी इन्धन भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो। बिहीबार बरामद गरिएको तीन हजार लिटर डिजेलको बजार मूल्य करिब चार लाख ५९ हजार पर्छ।

शुक्रबार यो घटना थप अनुसन्धानका लागि अख्तियार पठाइएको छ। ‘‘हामीले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका छौं। अब त्यतै अनुसन्धान हुन्छ,’’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो। अख्तियार गण्डकी प्रमुख बद्रिकुमार कार्कीले छानबिनअघि बढिसकेको उल्लेख गर्नुभयो। शुक्रबार बिहानै जिल्ला प्रशासनले निगमको प्रादेशिक कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। 

दास निगमका कार्यालय प्रमुख भएपछि अघिल्ला दुई आर्थिक वर्षभन्दा नोक्सानी दोब्बर भएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदन छ। डिपोमा इन्धनको नापजाँच गर्ने कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई त्यो काम गर्न नदिई दासले आफैं गर्ने गर्नुभएको थियो। बिहीबार नियन्त्रणमा लिइएको ट्यांकरको चलान, बिल र गेटपाससमेत दास आफैंले तयार गर्नुभएको छ। 

निगम गण्डकी प्रदेशका कार्यालयका सूचना अधिकारी श्रीधर लामिछानेले बिहीबारदेखि नै कार्यालय प्रमुख कार्यालयको सम्पर्कमा नरहेको जानकारी दिनुभयो। ‘‘टयांकर नियन्त्रणमा लिएको भन्ने मिडियाबाट थाहा पायौं, शुक्रबार बिहान प्रशासनका सरहरुले कागजपत्र लिएर जानुभो, नियमित काम चलिरहेकै छ।’’

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले निगमका कर्मचारीको संलग्नतामै यस्तो भएको देखिएको जनाउनुभयो। उहाँ भन्नुहुन्छ, “कर्मचारीको पनि संलग्नता छ, अनुसन्धान जारी छ।” चोरीमा प्रयोग भएको ट्याङ्कर बाबुराम जमरकट्टेलको भएको खुलेको छ।