काठमाडौँ, साउन २६ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० जनामा गरेको पिसिआर परीक्षणमा ८० प्रतिशतमा आँखा पाक्ने समस्या भएका व्यक्तिमा इन्टेरो भाइरस पुष्टि भएको जनाएको छ ।
गएको सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरस कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिबाट नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले ती नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनामा इन्टेरो भाइरस देखिएको जानकारी दिनुभयो । उहाँले पाटन अस्पतालबाट ल्याइएका नमुनामा आठ जनामा इन्टेरो भाइरस पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले देशभर फैलिरहेको आँखा पाक्ने सङ्क्रमण रोगको मुख्य कारण पत्ता लगाउन नेपाल नेत्रज्योति सङ्घ र नेपाल अफ्थालमिक सोसाइटीसँग सहकार्य गरेर सात वटै प्रदेशबाट थप नमुना सङ्कलन गरी परीक्षण गर्ने योजना रहेको जानकारी दिनुभयो । विभिन्न समयमा सङ्क्रमणका रूपमा फैलिने भाइरल कन्जक्टिभाइटिस मुख्य कारण भाइरस सङ्क्रमण हो । उहाँका अनुसार सङ्क्रमणको ८० प्रतिशत एडिनो भाइरसका कारण हुने गरेको छ । सोबाहेक केही भाइरल कन्जक्टिभाइटिसको सङ्क्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसले पनि गराउने गर्छ ।