• १६ चैत २०८०, शुक्रबार

कारागारभित्र मृत्यु प्रकरण : निष्पक्ष छानबिनका लागि आफन्तको माग

blog

खाँदबारी,  साउन  २५ गते । सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शङ्कास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन् ।

सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउन्जेल शव नउठाउने बताउनुभयो । प्रहरीले सिसिटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उहाँले शङ्का व्यक्त गर्नुभयो ।

प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र  छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उहाँले बताउनुभयो ।

हत्याको घटनापछि प्रहरीले नौ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउनेक्षमताको भए पनि विभिन्न मुद्दाका एक सय ३६ कैदीबन्दी राखिएको छ ।

मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । अर्का मृतक जबरजस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलाङ्गी थिए । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान एक बजे नियन्त्रणमा लिइएको र नियन्त्रण लगतै भएको कुटपिटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ । रासस