• १४ मंसिर २०८१, शुक्रबार

आकासियो गोलभेँडाको मूल्य

blog

सन्तोष सुवेदी 

कास्की, साउन २५ गते । एक सातादेखि गोलभेँडाको मूल्य आकासिएको छ । व्यवसायीका अनुसार गोलभेँडाको मूल्य अहिलेसम्मकै बढी हो । एक साताअघि गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढेर अहिले ११७ रुपियाँभन्दा माथि उक्लिएको छ । 

पोखराको सबैभन्दा ठूलो तरकारी बजार कृषि बजार व्यवस्थापन समिति योजना सहायक रूपा दाहालले अरू तरकारीको मूल्य नबढेको अवस्थामा गोलभेँडाको मात्र मूल्य बढेको सुनाउनुभयो । अहिले गोलभेँडाको मूल्य अधिक रहेको उहाँको भनाइ छ । “एक साताअघि ६०/७० रुपियाँ हाराहारीमा प्रतिकिलो गोलभेँडा बिक्री हुन्थ्यो, एक्कासी यसको मूल्य बढेको छ,” उहाँले भन्नुभयो । 

गोलभेँडाको आपूर्ति कम भएकाले पनि मूल्य बढ्न गएको दाहालले बताउनुभयो । “आपूर्ति निकै कम छ । किसानले नेपालमा उत्पादन गरेको गोलभेँडा भारत निर्यात गर्दा पनि यहाँ आवश्यकता बढी हुन गएको छ । भारतमा यो बेला गोलभेँडा उत्पादन घटेको र मूल्य बढेपछि नेपालबाट पनि निर्यात भएको सुनिन्छ,” उहाँले भन्नुभयो । उत्पादन घटेपछि कतिपय नेपाली किसानले यहाँ उत्पादित गोलभेँडा बढी मूल्य पाउने आसमा भारत निर्यात गर्दा स्वदेशमा अभाव भएर अहिले मूल्य बढेको उहाँको भनाइ छ । 

“यहाँ उत्पादन हुन छोडेको छ । अहिले काठमाडौँको मात्र गोलभेँडाको भर छ । त्यसैले गर्दा पनि माग अनुसार आपूर्ति दिन सकिएको छैन्,” उहाँले भन्नुभयो ।