अविनाश चौधरी
धनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना अझै बनाएको छैन । मनसुन लागेको आधा समय भइसक्दासम्म यो प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ ।
मनसुन सिजनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज, उद्धारलाई प्रभावकारी बनाउन हरेक वर्ष मनसुनअगावै वा मनसुन लाग्नेबित्तिक्कै विपत् प्रतिकार्य योजना बनाउन आवश्यक हुनेगर्छ ।
धेरैजसो स्थानीय तहले विपत् प्रतिकार्य योजना तयार पारिसके पनि बाढी, पहिरोजस्ता कारणले धनजनको क्षति भइरहेका बेला प्रदेश भने विपत् प्रतिकार्य योजनाविहीन रहेको छ ।
विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार पारिएको छ । तर, त्यसलाई स्वीकृत गरेर अनुमोदन गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अधिकृत जनक धामीले बताउनुभयो । उहाँका अनुसार विपत् प्रतिकार्य योजना धेरै पहिले तयार पारिएको छ । अनुमोदन भइसकेको छैन ।
“अस्ति नै अनुमोदन गर्ने तयारी थियो” धामीले गोरखापत्रसँग भन्नुभयो, “सुझाव सङ्कलन गर्ने भनेर अनुमोदन गरिएन ।” उहाँले गत वर्षको विपत् प्रतिकार्य योजनामा केही थप गरेर त्यसलाई अनुमोदन गरिने बताउनुभयो ।
प्रदेशमा प्राकृतिक विपत् व्यवस्थापनको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको काँधमा छ । अहिले प्रदेशको विभिन्न जिल्ला बाढी, पहिरोजस्ता विपत्बाट आक्रान्त छ । विपत् प्रतिकार्य योजना नबनेकाले यस वर्ष प्राकृतिक प्रकोपबाट प्रदेशमा के कति मानिस प्रभावित हुनसक्ने भन्ने यकिन छैन ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर ८५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला रहेका छन् । त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ ।
पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन् । हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै, आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका छन् । हावाहुरी, भारी वर्षा र अन्य कारणले एक–एक जनाले ज्यान गुमाएका छन् ।