बोमलाल गिरी
नवलपुर, साउन २४ गते । नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।
सडक विस्तारका क्रममा काटिएका काठ दाउरा लामो समयसम्म स्थानीय सामुदायिक वनमा घाटगद्दी गरेर राखिएको थियो । कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पुर्याएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो ।
स्थानीयले संरक्षण गरेको सामुदायिक वनको काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री वितरणका लागि निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पुगाएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो ।
निकुञ्जले काठ दाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढिसकेको भए पनि बाटो बिस्तारको क्रममा सामुदायिक वनमा काटिएका काठ दाउरा आफूहरूले पाउनुपर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनहरूले चेतावनी दिएका छन् ।
लामिचौर उपभोक्ता समिति अन्तर्गत पर्ने कुँढौली मध्यवर्ती सामुदायिक वन, राजरत्न मध्यवर्ती सामुदायिक वन र शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्षसहितका पदाधिकारीले बाटो विस्तारका क्रममा काटिएका काठ दाउरामा स्थानीय सामुदायिक वन र तिनका उपभोक्ताको अधिकार हुने बताउनुभयो ।
लिलाम प्रक्रिया रोकेर तत्काल कटान गरिएका काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न उहाँहरूले माग गर्नुभएको छ । निकुञ्जले आफूहरूको मागलाई बेवास्ता गरेर अगाडि बढे रेन्जपोस्ट, पश्चिम सेक्टर कार्यालय तथा निकुञ्ज कार्यालय घेर्ने, सडक आन्दोलन गर्ने उहाँहरूको चेतावनी छ ।
काटिएका काठ दाउरा स्थानीय सामुदायिक वनलाई दिने मौखिक सहमति भएको भए पनि अहिले आएर चितवन राष्ट्रिय निकुञ्जले काठ दाउरा लिलाम बिक्री गरेर वन संरक्षक स्थानीय सामुदायिक वनका उपभोक्ताप्रति अन्याय गरेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताउनुभयो ।
‘वन संरक्षण उपभोक्ताकै कारणले भएको हामीले बिर्सनुहुँदैन, बाटो विस्तारको क्रममा काटिएका काठ दाउरा सामुदायिक वनमार्फत उपभोक्तालाई दिनुपर्छ’ पौडेलले भन्नुभयो । सामुदायिक वनले वार्षिक कार्य योजनाअनुरूप काठ दाउरा पाइरहेकाले बाटो विस्तारको क्रममा काटिएका काठ दाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।
काटिएको काठ दाउरा सडकको क्षेत्रभित्र पर्ने भए पनि सडक आयोजनाले आफूलाई हस्तान्तरण गरेकाले नियमानुसार नै काठ दाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताउनुभयो ।
निकुञ्जले जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब चार वर्ष अगाडि काटेर राखिएको १२ हजार १ सय ४४ क्युबफिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८.५ चट्टा दाउरा लिलामको लागि २१ दिनको म्याद राखेर सूचना प्रकाशन गरेको थियो ।