• १२ साउन २०८१, शनिबार

७४ जिल्लाका नौ हजार बढीमा डेंगु पुष्टि, आठ सङ्क्रमितको मृत्यु

blog

काठमाडौं, साउन २३ गते । डेंगु सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको हो । 

पछिल्लो समय डेंगु सङ्क्रमितको संख्या बढ्दै गएको छ । डा. मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७४ जिल्लाका नौ हजार ४११ जनामा डेंगु पुष्टि भएको छ ।

डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा छ हजार ९३४ जनामा डेंगु पुष्टि भएको छ । 

यसैगरी, बागमती प्रदेशमा एक हजार ३९१, गण्डकी प्रदेशमा ४१९, सुदूरपश्चिम प्रदेशमा ३८०, लुम्बिनी प्रदेशमा २०६, मधेश प्रदेशमा ५३ कर्णाली प्रदेशमा २८ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै आठ हजार ३८२ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा पाँच हजार ४१, मोरङमा एक हजार २२८,धादिङमा ९७६, कास्कीमा २२५, दार्चुला १९२, झापामा १८२, काठमाडौंमा १४६,सङ्खुवासभामा १०२, कञ्चनपुरमा ६७ जनामा डेंगु पुष्टि भएको छ ।

डेंगु के हो ?

सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् । एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउनुहुन्छ । तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा. चालिसेको भनाइ छ । 

डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पर्ने भएकोले विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्ने, डाढ, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने यसका प्रमुख लक्षण हुन । 

यसका साथै लगातार बान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने बेहोस हुने आदि जटिल लक्षण देखिने डा. चालिसेको भनाइ छ । 

दुखाइ कम गर्ने औषधि नखान आग्रह 

डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । यो भाइरस एक दुई हप्तामा आफैँ निको हुन्छ । उच्च ज्वरो कम गर्न प्यारासिटामोल खाने तर दुखाइ कम गर्ने औषधि नखान चिकित्सकको सुझाव छ ।

पानी, झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्णरूपमा आराम गर्ने चिकित्सकको सुझाव छ । यदि डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा. चालिसेले सुझाव दिनुभयो । 

डेंगु भाइरसबाट बच्ने उपाय  

लामखुट्टेको वासस्थान सफा गर्नु नै डेंगु नियन्त्रणको प्रमुख कारण भएको विज्ञ बत्ताउँछन् । डा. चालिसेका अनुसार बच्ने उपाय डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर सुत्ने, पुरा बाहुला भएको पुरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टे धपाउने विधिहरू अपनाउन चिकित्सकको सुझाव छ । 

लामखुट्टेको वृद्धि विकास रोक्ने तरीका 

घर वरिपरि, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने सफा राख्ने, पानी जमिहालेमा हप्तामा दुई पटक जमेको पानी फाल्ने, दैनिक प्रयोजनका लागि राखिएको पानी छोपेर राख्ने साथै कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला र गमला राखेको भाँडामा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा गर्ने, भाँडाकुँडामा पानी जम्न नदिने, भाँडा घोप्टाएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुँडा, सिसी बोतल, प्लास्ष्टिकका सामग्री, टायर आदिलाई पानी जम्न नमिल्ने गरी बिसर्जन गर्न विज्ञको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।