• ११ मंसिर २०८१, मङ्गलबार

आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द

blog

फाइल तस्बिर

शालिग्राम नेपाल 

चितवन, साउन २१ गते । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ । 

बालबालिकाका सङ्क्रमण बढेपछि स्थानीय तहले आवश्यकताअनुसार बन्द गर्दैआएका छन् । चितवनको खैरहनी नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्म दुई दिन विद्यालय बन्द गर्ने सूचना  जारी गरेको छ। प्रकोप वृद्धि भएका बन्द गर्ने तयारी रहेको छ । भरतपुर महानगरले साउन २६ गतेसम्म बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

एडिनो भाइरसको सङ्क्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि आइतबार सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । यस रोगको प्रकोपले बालबालिका बढी प्रभावित भएका छन् । विद्यालयमा समेत सङ्क्रमणको असर बढ्दै गएकाले विशेषज्ञको परामर्शका आधारमा हिउँदे र वर्षे बिदाका मिलान गर्नेगरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाले भने संस्थागत विद्यालय (कक्षा १२ सम्म सञ्चालन भएका) लाई साउन २४ गतेसम्म पठनपाठन रोक्न निर्देशन दिएको छ । 

सामुदायिक विद्यालयहरू वर्षे बिदामै रहेकाले संस्थागत विद्यालयलाई बिदा गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जानकारी दिनुभयो । बिदाको सूचना जारी गर्नु पहिला आँखाको सुरक्षासम्बन्धी सचेतना दिन पनि आग्रह गरिएको छ ।

सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी शिक्षकलाई आँखामा समस्या आएपछि पठनपाठन समेत प्रभावित भएको छ । आँखा पाक्ने रोग फैलिएपछि त्यसको चाप भरतपुर आँखा अस्पतालमा परेको छ । दैनिक सयौँ बिरामी उपचारका लागि आउनेगरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । विद्यार्थी मार्फत घर–घरमा रोग फैलिएपछि उपचारका लागि अस्पतालमा जाने बिरामीको सङ्ख्या बढेको छ । गत जेठमा अत्यधिक गर्मीको कारण १० दिन विद्यालय बिदा दिइएको थियो । अहिले आँखा पाक्ने रोग आएपछि एक साता विद्यालय बन्द गरिएको छ ।