• ११ असोज २०८१, शुक्रबार

सङ्घीय निजामती ऐन मन्त्रिपरिषद् बैठकमा पेस हुँदै

blog

काठमाडौँ, साउन २१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सङ्घीय निजामती ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने बताउनुभयो । उहाँले ढुङ्गा–गिट्टी तथा फोहाेरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताउनुभयो । उहाँले आफू मन्त्री बनेको दिनबाट नै सङ्घीय निजामती ऐन ल्याउनै पर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको र मन्त्रिपरिषद् हुँदै सांसदमा पेस गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सरकार अहिले सुशासनमा बढी जोड दिएर काम गरिरहेको बताउनुभयो ।

मन्त्री मोदीले भन्नुभयो, ‘सरकार अहिले पछिल्लो चरणमा सुशासनमा बढी जोड दिइरहेको छ । मैले देखिरहेको छु, र म पनि काम गरिरहेको छु, अहिलेको प्रधानमन्त्रीज्यू लागिरहनुभएको छ, हामीलाई निर्देशन दिइरहनुभएको छ । म जब मन्त्री भएँ, मेरो मिसनमा एउटा सङ्घीय निजामती ऐन ल्याउने भन्ने थियो । किनभने निजामती सेवा ऐन र कानुन बनाउने कुरामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भनेर डे वानदेखि त्यो ड्राफ्ट कुरेर विभिन्न सरोकारवालासँग छलफल गरेको छु । 

अहिले त्यो ऐन अर्थ र कानुन मन्त्रालयबाट पनि आइसकेको छ । आउने क्याबिनेटमा दर्ता हुन्छ र त्यहाँ जान्छ । ढुङ्गा गिटी र बालुवाको पनि धेरै समस्या छ, विकास निर्माणमा त्यसको पनि ऐन बनेको थिएन, त्यसको पनि ऐन तयार पारेको छु । अर्को कुरा फोहोर मैला, काठमाडौँ, विराटनगरको फोहोर, देशैभरका फोहोर यसलाई पनि कानुनसम्मत ल्याउनुपर्छ भनेर त्यो ऐन पनि तीन वटा ऐन ड्राफ्ट गरेँ, यही क्याबिनेटमा त्यो ऐन जान्छ । कसैको कुरा नसुन्ने र पावरको भरमा रोजेको ठाउँमा कर्मचारीहरू बस्ने कुराले सुशासन हुन सक्दैन ।’ 

मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरूबाट सुशासन हुन नसक्ने बताउनुभयो ।