• १४ मंसिर २०८१, शुक्रबार

वडा सचिवबाटै सामाजिक सुरक्षा भत्ता हिनामिना

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), साउन २१ गते । म्याग्दीमा एक जना वडा सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१, बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिकाको छानबिन समितिले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएको थियो । 

वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताबापतको एक लाख ५४ हजार रुपियाँ आफैँले हस्ताक्षर र औँठा छाप लगाएर बैङ्कबाट झिकेको पुष्टि भएको हो । गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपछि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ । 

वडा सचिव आचार्यले विदेशमा गएका लाभग्राहीको चेकबुकमा आफैँले किर्ते औँठा छाप र हस्ताक्षर गरेर रकम झिक्ने गरेको पाइएको हो । 

वडा सचिव आचार्यले सामाजिक सुरक्षा भत्ता पाउने बेगका टिकामा पुर्जा, माया फगामी पुन, लालमाया फगामी पुन र बिन्दु गर्बुजा गरी चार जनाको भत्ता आफ्नै हस्ताक्षर र आफैँ लिखित र औँठा छाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी वडा सचिव आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्तासमेत आफैँले झिक्ने गरेको भेटिएको छ । 

विदेश जानुभन्दा पहिला सचिव आचार्यले विदेश गएपछि सामाजिक सुरक्षा भत्ता पाउनु हुँदैन चेक बुक बुझाउनु भनेपछि लाभग्राहीले सचिवलाई बुझाएको र त्यही चेक बुकमा किर्ते गरेर रकम झिक्ने गरेको पाइएको हो । छानबिन समितिका तथा गाउँपालिकाका समाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाले उक्त कुरा बताउनुभएको हो । 

पालिकाले गत असार १९ गते शेरपुञ्जाको संयोजकत्वमा वडा सदस्य बलमान गौचन र पञ्जीकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । वडा सचिवले अनियमितता गरेको गुनासोको आधारमा आवश्यक छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण भेटिएको उहाँले बताउनुभयो । 

समितिले पीडित लाभग्राही, वडा कार्यालयका कागजात र सामाजिक सुरक्षा भत्ता वितरण हुने प्रभु बैङ्कको रघुगङ्गा शाखामा समेत गएर आवश्यक कागजात, तथ्य र प्रमाणका  आधारमा छानबिन गरी प्रतिवेदन तयार गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले कार्यपालिका बैठकले कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

वडाका सेवाग्राहीबाट सचिव आचार्यको कामकारबाहीका बारेमा गुनासो आएपछि पालिकाले छानबिन समिति बनाएको र छानबिन गर्दा सामाजिक सुरक्षा भत्तामा सचिवले अनियमितता गरेको पाइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।