• ११ मंसिर २०८१, मङ्गलबार

‘आतोओडा’ माथि अन्तर्क्रिया

blog

नारायणगढ समाचारदाता 

भरतपुर, साउन २१ गते । जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ को बारेमा शनिबार यहाँ अन्तर्क्रिया भएको छ। पद्मश्री पुरस्कारको सूचीमा सूचीकृत उपन्यासमा पूर्वी नेपालमा रहेका सीमान्तकृत समुदायको सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढङ्गले उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै समीक्षक सरिता तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताउनुभयो। उहाँले भन्नुभयो, “साधारण कुरालाई पनि मिठो तरिकाले उपन्यासमा प्रस्तुत गर्न सक्नु उपन्यासकारको सफलता हो।” 

सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा समीक्षक तथा लेखक उदय अधिकारीले सन्थाल जातिको पहिचान झापा विद्रोहसँग जोडिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सन्थाल जातिको भाषा, संस्कृति पहिचानमा यो उपन्यास सार्थक बनेको छ,” उहाँले भन्नुभयो। 

त्रिविविका सहप्राध्यापक रमेश प्रभातले उपन्यासमा भूमिहीन सन्थाल जातिको कथा आएको बताउनुभयो। उहाँले भन्नुभयो “आफूहरू भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनुपर्ने बाध्यतालाई यसमा मार्मिक रूपमा चित्रण गरिएको छ।’’

झापा निवासी लेखक खतिवडाको यो तेस्रो उपन्यास हो। उहाँले समीक्षकहरूले उठाएको सवालको जवाफ दिँदै सन्थाल जातिसँगको आफ्नो उठबस सङ्गतले नै उपन्यास लेख्न सकेको बताउनुभयो। कार्यक्रममा कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटी, सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटालगायतले बोल्नुभएको थियो।