• १६ भदौ २०८१, आइतबार

पारदर्शिता सुनिश्चितता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

blog

काठमाडौं, साउन २० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताउनुभएको छ । 

नेपाल अडिटर्स एशोसिएसन (अडान) को १८ औं स्थापना दिवसमा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने र रहिरहने बताउनुभयो । त्यसकारण पनि यो पेशा र व्यवसायको विस्तार आवश्यक रहेको उल्लेख गर्दै डा. महतले भन्नुभयो, ‘हरेक क्षेत्रमा हिसाबकिताब चुस्त दुरुस्त राख्ने र हिसाब किताब चुस्त दुरुस्त छ कि छैन भनेर त्यसलाई हेर्ने जिम्मेवारी अडिटरहरुको हुन्छ ।’

‘अर्थतन्त्रमा समस्या थियो, अझै केही समस्या छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन । मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं, केही सम्बोधन भएको छ, उद्योग व्यवसायी साथीहरुले खोजेजस्तो अवश्य भएको छैन’ अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘वर्किङ क्यापिटलका बारेमा साथीहरुले चाँडै निर्देशिका ल्याउँछौं भन्नुभएको छ, त्यो आएपछि थप सहजता हुनेछ ।’

मन्त्री डा. महतले पूँजीगत खर्चमा हामीले बजेट धेरै राख्न सकेनौं, तर यसलाई हामीले सम्पूर्ण रुपले खर्च गर्न सकियो भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ । मौद्रिक नीति र वित्तीय नीतिमार्फत् अर्थतन्त्रमा तरलता बढाउने, लगानी वृद्धि गर्ने काममा सरकार क्रियाशील रहेको बताउनुभयो ।

‘कोभिडको समयमा लामो समय अर्थतन्त्र ठप्प भयो, त्यसको प्रभाव अहिले देखिरहेको छ । बन्दको असर एक किसिमको थियो, त्यो बेला थपिएको दायित्व अहिले प्रकट हुन थालेको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘मलाई लाग्छ यो अस्थायी हो ।’


‘राज्य संयन्त्रमा समस्या छ, धेरै कुरा हामी घोषणा गर्छौं, यो घोषणाको अन्तरनिहीत गम्भीरतामा हामी सोच विचार गर्दैनौं । जसले गर्दा धेरै समस्या आएको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘विचार नपुर्याइ गरेको निर्णयले समस्या जम्मा भएका छन्, यसलाई सफा गर्न समय लाग्छ, यसको सफाइको सुरुवात हामीले गरेका छौं ।’

अडानका अध्यक्ष केदारनाथ पौडेलले वर्तमान अवस्थामा अडिटरहरुले भोगिरहेका जल्दाबल्दा समस्या, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नया बन्र्ने ऐनमा प्रादेशिक संरचना सहित रजिष्टर्ड अडिटर्सका सम्बन्धमा स्पष्ट समान बिभेदरहित व्यवस्था हुनुपर्ने लगायतका मुद्धा समाधानका लागि सरकारसगँ माग गर्नु भयो । 

साथै सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको, प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटिईभिटि)संग नेपाल अडिटर्स एशोसिएसन अडानलाई प्रोफेशनल एकाउन्टेन्टको छोटो अवधिको तालिम कार्यक्रम संचालन गर्न स्विकृती प्राप्त भएको जानकारी समेत गराउँदै नियमानुसार प्रक्रियागत रुपमा तालिम संचालन गरि राष्ट्रलाई महत्वपुर्ण योगदान गर्न क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा कार्यबाहक महालेखापरीक्षक महेश्वर काफ्ले, आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले, नेपाल उद्योग परिसंघका अध्यक्ष  राजेश कुमार अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षहरु  सुरकृष्ण बैद्य र  हेम राज ढकाल, एक्यानका अध्यक्ष  दिपक पाण्डेलगायतले शुभकामना दिनुभएको थियो ।