• २० असार २०८२, शुक्रबार

रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ३० जना घाइते

blog

रोम, असार २० गते । इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् । घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।  

ग्वाल्टिएरीले स्थानीय समयअनुसार बिहान ८:२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको बताउनुभयो । ती भवनमा बालबालिकाको ग्रीष्मकालीन शिविर आयोजना गर्ने खेल हलसहित ‘ठूलो क्षति’ भएको बताउनुभएको छ । बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण थप धेरै मानवीय क्षति हुन पाएन । 

ग्वाल्टिएरीका अनुसार इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो । “विस्फोट वास्तवमै शक्तिशाली थियो । मैले सपनामाजस्तै आफ्नो छाला जलिरहेको महसुस गरें,” स्पोट्र्स सेन्टरमा काम गर्ने २३ वर्षीया मिचेल सेकोले एएफपीसँग भनिन् ।

अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ । एएफपीका संवाददाताहरुका अनुसार यो आवाज शहरमा टाढासम्म सुनिएको थियो र शहरका झ्यालहरु समेत हल्लिएका थिए ।

खेल केन्द्रका प्रमुख बाल्जानी फाबियोले पहिलो आगलागी बिहान ७:३० बजेदेखि ७:४० को बिचमा सुरू भएको थियो । यदि आगलागी अर्को केही समय (४५ मिनेट) पछि भएको भए यसले विनाशकारी नतिजा ल्याउन सक्ने थियो । उहाँले एएफपीसँग भन्नुभयो, “यदि यो घटना बिहान ८:३० बजे वा पछि भएको भए यो नरसंहार र विपत्तिको कारण हुने थियो ।”

उहाँका अनुसार बिहान ८:३० बजे केन्द्रमा ग्रीष्मकालीन शिविरका लागि करिब ६० जना बालबालिका आउने अपेक्षा गरिएको थियो भने करिब १२० जना बालबालिकालाई स्विमिङ पुल प्रयोगका लागि बुकिङ गरिएको थियो । अग्निनियन्त्रकहरूको १० वटा टोली पेट्रोल पम्प रहेको घटनास्थलमा पठाइएको थियो । पम्पमा गाडीको इन्धन र तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) दुवै उपलब्ध थियो । 

अग्नी नियन्त्रकले सामाजिक सञ्जालमा कालो र मुस्लोको झोका सतहदेाि माथि आकाशमा पुगेर फैलिएको भिडियो पोस्ट गरेका छन् । यसैबिच, प्रधानमन्त्री जियोर्जिया मेलोनीले आफूले परिस्थितिलाई नियालिरहेको र अधिकारीलाई आवश्यक निर्देशन दिएको बताउनुभएको छ । उहाँले एक्समा लेख्नुभएको छ, “म घाइते भएका सबैसँग दुःखको यस घडीमा समवेदनना व्यक्त  गर्दछु र कानून प्रवर्तन अधिकारी, अग्निनियन्त्रक र स्वास्थ्यकर्मीसहित उद्धार र सुरक्षा कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन्छु ।” रासस/एएफपी