स्मिता अर्जेल
मकवानपुरगढी, असार २० गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –२ रातोमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
शुक्रबार करिब १ बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी रातोमाटे भीरको घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर अनियन्त्रित भइ करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
गाडीमा चालकसहित १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं अस्पताल पठाइएकोे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी तीव्र गतिका कारण दुर्घटनामा परेको यात्रुहरुले बताएका छन् । गाडी चालक जितपुर बारा परमाणीपुर गाउँपालिका –२ बस्ने वर्ष २२ को राजाराम शाह प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घाइते हुनेमा जितपुर बारा परमाणीपुर गाउँपालिका –३ बस्ने वर्ष ३५ को चन्द्रसन्जु गैरे, भारतको विहार बस्ने वर्ष ३९ को रिसाहद कुमार, सोही स्थान बस्ने वर्ष ३५ का उमाशंकर कुमार, वर्ष २७ का जताशंकर कुमार र वर्ष ५० का राकेशकुमार छन् ।