• १३ मंसिर २०८१, बिहिबार

लोप हुँदै खोलाका पानी घट्ट

blog

खप्तड छेडेदह–५ डोगडीको पारतोला नजिक खोलामा स्थानीयले सञ्चालन गरेको पानी घट्ट । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, साउन २० गते । 
बाजुराका परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् ।

गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन भएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने ती खोलाका पानी घट्ट पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

खप्तड छेडेदह गाउँपालिका–१ काँडाका स्थानीय नरबहादुर रोकायाले,  गाउँमा बिजुली बलेसँगै खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै गएको  बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँमा बिजुली पुगेपछि पहिला बाजुराका हरेक खोलामा चल्ने पानी घट्ट सञ्चालन नहुन थालेपछि पछिल्लो समय ती जीर्ण बन्दै गएको छ ।’’

कोदो, गहुँ  कोदो र फाँपर पिस्नका लागि पहिलाका पुस्ताले प्रयोग गर्दै आएका ती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ती घट्ट सञ्चालनमा ल्याउने गाउँका अधिकांश स्थानीयको रोजगारी समेत खोसिएको रोकायाले बताउनुभयो ।

पहिला गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्थ्यो  ।

यहाँका स्थानीयले खोलाको पानीबाट चल्ने घट्टमा अन्न पिस्न छोडेर गाउँमै सञ्चालनमा आएका विद्युतीय मिलबाट पिसानी गर्न थालेपछि उनीहरूको त्यो व्यवसाय बन्द हुँदै गएको हो ।

हाम्रो बाबु बाजेले खोलामा पानी घट्ट बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएपछि हामीले पनि त्यही घट्ट चलाएर नै केही समय पेट पाल्दै आयौँ ।

अहिले गाउँमा विद्युत बलेसँगै हुने खानेले मिल सञ्चालन गरेपछि पानी घट्टमा अन्न पिस्न कोही नआउने गरेकाले हाम्रो पुस्ताले गरेको व्यवसाय नै सङ्कटमा पर्न थालेको रोकायाले बताउनुभयो । 

बाजुराको स्वामिकार्तिक, हिमाली, जगनाथ, गौमुल, छेडेदह, त्रिवेणी, बडिमालिका, बूढीगङ्गालगायतका पालिकामा रहेका खोलाबाट सञ्चालन भएका पानी घट्ट अहिले प्रयोग विहीन छन् ।

गाउँगाउँमा नयाँ प्रविधिबाट मिल सञ्चालन हुन थालेपछि पछिल्लो समय ती पानी घट्ट प्रयोग विहीन भएको स्थानीय बताउँछन् ।

पहिला हामी अन्न पीसानी गरिदिए बाफत धुलो लिने गर्थ्यो । अहिलेका मिल सञ्चालक धुलो नलिएर पैसा लिने गर्छन् । पैसा नहुनेका लागि अहिले अन्न पिस्न निकै समस्या भएको त्रिवेणी–४ का मनबीर साउँदले बताउनुभयो ।

उहाँले पहिला पाँच पाथी अन्न पिस्नु परेमा एक किलो धुलो घट्ट पीसेवाफत भगारोलाई दिनु पर्दथ्यो, भने अहिले मिलमा पिसानी गरेबापत प्रतिकिलोको चार रुपियाँ तिर्नु परेको साउँदले बताउनुभयो ।

पहिला पानी घट्टमा अन्न पिसानी गर्न जाँदा तुरुन्तै गेडा पिसेर घरमा आइन्थ्यो अहिले मिलमा लाइन लाग्नु परेको छ । मिलमा पिसेको धुलोको पनि त्यति राम्रो स्वाद नभएको साउँदले बताउनुभयो ।

घट्टमा पिसेको धुलो र मिलमा पिसेको धुलोमा धेरै भिन्नता छ । मिलमा पीसेको धुलोभन्दा घट्टमा पीसेको धुलोको निकै राम्रो स्वाद आउने गरेको खप्तड छेडेदह गाउँपालिका–२ का ६५ वर्षीया स्थानीय सुन्ताला नेपालीले बताउनुभयो ।

उहाँले यसरी पुराना पुस्ताका सीप हराउँदै गएपछि गाउँ बस्तीको इतिहास नै बिस्तारै नै मेटिँदै जान सक्ने बताउनुभयो ।

गाउँमा पहिलेदेखि सञ्चालनमा आएका पानी घट्टलाई व्यवस्थित गर्दै जाने हो भने यहाँका स्थानीयका लागि मिलभन्दा पनि घट्टनै निकै लाभदायी बन्न सक्ने नेपालीले बताउनुभयो ।

यता यहाँका स्थानीयको माग भएपछि पहिलाका पुस्ताले सञ्चालन गर्दै आएका गाउँका ती पानी घट्टलाई व्यवस्थित तथा परिमार्जित गर्नका लागि गाउँपालिकाले सहयोग गर्दै आएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो ।