• १३ साउन २०८१, आइतबार

गाउँ गाउँसम्म सडक कालोपत्रे

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, साउन २० गते ।  पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो। 

यहाँको अर्जुनचौपारी सडक (गााउँपालिका–सदरमुकाम) छ किमि, मिर्दी–क्याक्मी–भिमाद–स्याङ्जा खण्ड १० किमि, नागडाँडा–कार्कीनेटा खण्ड स्तरोन्नति छ किमि पूर्वाधार कार्यालयले कालोपत्रे गरेको हो। पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड छ लाख रुपियाँमा गरेको जानकारी दिनुभयो। 

ढलानतर्फ दामाचौर–हिलामराङ–भिमाद सडक तीन किमि, शुक्लागण्डकी–दुलेगौँडा–चिसापानी (गाउँपालिका केन्द्र जोड्ने) दुई किमिभन्दा बढी, बायटारी–उदियाँचौर–सेतीवेणी सडक एक किमि सडक ढलान गरेको अर्यालले बताउनुभयो। यहाँका अन्य सडक ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएको पूर्वाधार कार्यालयले जनाएको छ। 

यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड, सिमेन्ट प्रयोग गरेर ढलान गरिएको बताउनुभयो। इन्जिनियर दिपेश लिगलले स्याङ्जामा चालु आवमा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो। आगामी आवका लागि १६ वटा सडक बहुवर्षीय रहेका र प्रदेश तथा सङ्घको बजेटसमेत धेरै रहेकाले कालोपत्रे र ढलानसमेत धेरै हुने लिगलले बताउनुभयो।  पूर्वाधारले ५३ वटा सडकको कटान, मेसिनरी वाल, नाला बनाएको छ। एउटा सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवनसमेत बनाएको हो। पूर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लाख १३ हजार रुपियाँ बराबरको प्रगति भएको छ।