• ११ असोज २०८१, शुक्रबार

विद्युतीय हाजिरी मेसिन प्राध्यापकले नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा

blog

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहभागी सांसद्हरु र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटालगायत पदाधिकारी । तस्बिर : प्रकाश सिलवाल/रासस

काठमाडौं, साउन १९ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।

शुक्रबार सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्नुहुँदै उहाँले सो मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गर्नुभयो ।

उपकुलपति बास्कोटाले भन्नुभयो, ‘‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर ग¥यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडि दे । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने । यो माननीयहरुले जान्नुपर्छ मेरो अफिस बन्द थियो । मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै सङ्गठनको आवरणमा आएर हामीहरुको माईनुट लुटेर लगेकै हो ।’’

उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूले गरेको मिटिङको माईन्युट समेत सङ्गठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यक्ताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।