• ८ पुस २०८१, सोमबार

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, साउन १९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले आज (शुक्रबार) वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताउनुभयो । विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उहाँले  छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गर्नुभयो । उहाँले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उहाँको भनाइ छ ।

उहाँले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासीनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिनुभयो । मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनुरहेको बताउनुभयो ।

सो अवसरमा उहाँले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनः सञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु. एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिनुभयो । उहाँले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई रु. २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि रु. एक करोड अर्थ मन्त्रालयबाट निकासा भइसकेको बताउनुभयो । रासस