• ११ असोज २०८१, शुक्रबार

क्यान्सर उपचारमा सकस

blog

नसर्ने प्रकृतिका रोगमध्ये क्यान्सर एउटा डरलाग्दो रोग हो । क्यान्सर ढिलो गरी पत्ता लागे उपचार नै हुन कठिन हुने । सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके पूर्ण रूपमा निको हुन सक्ने चिकित्सक बताउँछन् । शरीरका अङ्गहरूको स–साना एकाइ अर्थात् कोषहरूमा लाग्ने रोग क्यान्सरको उपचारमा रेडियोथेरापी (सेकाइ), शल्यक्रिया (सर्जरी) र किमोथेरापी उपचार पद्धति प्रयोग हुन्छ । रेडियोथेरापीमा उच्चतम शक्तिको एक्स रे (विकिरण) प्रयोग हुन्छ । विश्वमा लामो समयदेखि क्यान्सर रोग उपचारका लागि रेडियोथेरापी प्रविधिको प्रयोग, विकास र विस्तार भइरहेको छ तर यो सेवा नेपालमा चाहिँ कमजोर छ । रेडियोथेरापी गर्ने मेसिन भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरबाहेक अन्य सरकारी अस्पतालमा नहुँदा पालो पाउन नसकी बिरामी महँगोमा पर्ने, भारत जानुपर्ने वा मृत्यु अँगाल्नुपर्ने दुःखद र विडम्बनापूर्ण अवस्था छ ।


मेसिनबाट अदृश्य विकिरणका किरण शरीरभित्र प्रवेश गराई क्यान्सरका कोसिकालाई निस्क्रिय पार्ने पद्धतिलाई रेडियोथेरापी भनिन्छ । क्यान्सरका बिरामीमध्ये दुई तिहाइ बिरामीलाई कुनै न कुनै बेला रेडियोथेरापीको आवश्यकता पर्छ तर सर्वसुलभ नभएकाले सबै रोगीले यो सुविधा समयमै लिन सकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनको प्रस्ताव अनुसार प्रति १० लाख जनसङ्ख्याका लागि कम्तीमा एक लिन्याक या कोबाल्ट मेसिनको उपलब्धता सुनिश्चित गरिनु पर्छ तर यो मापदण्ड नेपालका लागि दुरुह छ । एक तथ्याङ्क अनुसार नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सर पीडित हुने गरेको र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको छ।


नेपालको सबैभन्दा पुरानो भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका सम्पूर्ण सुविधा उपलब्ध छन् । सो अस्पतालले रेडियोथेरापीको अत्याधुनिक लिन्यास आइएक्स मेसिन जडान गरी विश्वस्तरीय सेवा दिएको छ । धेरै बिरामीलाई भारतलगायत अन्य मुलुकमा उपचारका लागि धाइरहन परेको छैन तर सो अस्पतालमा बिरामीको चाप ठुलो छ । अन्य अस्पतालमा भन्दा १० गुणा कम खर्चमा उपचार गरिने हुँदा त्यहाँ देशभरिबाट सर्वसाधारण बिरामी आउने गर्छन् । त्यहाँ दैनिक ८० देखि एक सय जनाको रेडियोथेरापी हुने गर्छ तर नाम लेखाउनेले पालो पाउन चार महिना कुर्नु पर्छ । चार महिनासम्म पहिलो चरण (स्टेज) को क्यान्सर छ भने फैलिएर तेस्रो चरणसम्म पुगिसक्ने र बिरामीको ज्यानै जाने जोखिम हुन्छ । 


पाठेघरको मुख, जिब्रो, घाँटी, मुख, पेट, फोक्सो, स्तन, प्रोस्टेट क्यान्सर तथा ब्रेन ट्युमरलगायत रोगको उपचारको प्रभावकारी विधि रेडियोथेरापीका लागि सरकारी अस्पतालमा पर्याप्त मेसिन नहुँदा बिरामीहरू मारमा परेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा अर्को मेसिन पनि छ तर त्यो सञ्चालन हुन सकेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सो अस्पताललाई अत्याधुनिक रेडियोथेरापी मेसिन उपलब्ध गराउने घोषणा भयो । भारत सरकारले डेढ वर्षअघि मेसिन पनि दियो तर त्यो मेसिन त विपन्नलाई हात्ती दान दिए जस्तो भएको छ । रेडियोथेरापी मेसिनका लागि सहयोगी ‘सोर्स’ कोबाल्ट आइसोटोप जुलाई महिनासम्म पठाउने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म आएको छैन । त्यहाँ कम्तीमा दुई वटा मेसिन चलाउन सके बिरामीलाई राहत हुने छ । त्यसैले मेसिन चलाउने सोर्स ल्याउन उच्च पहल आवश्यक देखिएको छ । 


रेडियोथेरापी एकदमै महँगो हुन्छ । नेपालमा दुई सरकारीका साथै अन्य पाँच वटा निजी क्षेत्रका अस्पतालमा पनि रेडियोथेरापी सेवा छ तर विपन्न नागरिकले निजीमा महँगो शुल्क तिरेर उपचार गराउने सामथ्र्य राख्दैनन् । उनीहरू सरकारीमा पालो नपाउँदा अकालमै मृत्युवरण गर्नुपर्ने उच्च जोखिममा छन्। यसो त चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पताल पनि दक्षिण एसियाली क्षेत्रमा ख्यातिप्राप्त छ तर समस्या त्यहाँ पनि छ । सरकारी अस्पतालमा दक्ष चिकित्सक र प्राविधिक, उपकरण भए पनि तिनको परिचालन, व्यवस्थापनमा समस्या क्यान्सरकै स्वरूपमा देखापर्छन् । वीर अस्पतालले नै रेडियोथेरापीको अत्याधुनिक मेसिन खरिद गरेर पनि जडान नगरी खिया पारेर राखेको उदेकपूर्ण अवस्थाले यही देखाउँछ । उपकरणहरू भए पनि नचलाएका, मर्मत सम्भार नगरिएका कारण बिरामी निजी उपचार संस्थामा महँगो उपचार गराउन बाध्य हुन्छन् । सरकारले बिरामी नागरिकको उपचारका लागि अत्यावश्यक उपकरणको पर्याप्त जोहो गर्नु पर्दछ । उपकरण बिगारेर मर्मत नगरी राख्ने जस्ता अस्पतालका क्यान्सरस्वरूप समस्याको पनि उपचार अत्यावश्यक छ ।