• २० पुस २०८१, शनिबार

प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मतले अनुमोदन

blog

सङ्घीय संसद् सार्वजनिक सुनुवाइ समितिको बैठकमा सहभागीहरू। फाइल तस्बिर

काठमाडौं, साउन १८ गते । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।  समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरूको नाम समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभएको हो । 

संयुक्त राष्ट्रसङ्घ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदूतमा सुधीर भट्टराई, कुवेतका लागि आवासीय राजदूतमा घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो । 

सभापति कार्कीले प्रस्तावितहरूको सम्बन्धमा पाँचवटा उजुरी प्राप्त भएको र तीमध्ये तीनवटा सैद्धान्तिक प्रकृतिका र दुईवटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनुभयो । 

कार्कीले भन्नुभयो, ‘‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असार २६ को निर्णय अनुसार विभिन्न मुलुकमा राजदूत तथा स्थायी प्रतिनिधिको नियुक्तिका लागि देहाय बमोजिमका व्यक्तिको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ समितिको निमित्त यस समितिसमक्ष मिति २०८० साउन १ मा परराष्ट्र मन्त्रालयबाट प्राप्त हुन आएको थियो । प्रस्तावित नामहरू समितिमा प्राप्त भएपश्चात् संसदीय सुनुवाइ समितिको मिति २०८० साउन ३ मा बसेको बैठकले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्य सञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १३ बमोजिम प्रस्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिहरूको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिने सूचना प्रकाशित गरेको छ । उल्लिखित पदमा प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा जम्मा पाँचवटा उजुरी प्राप्त हुन आएका जसमा तीनवटा उजुरी सैद्धान्तिक प्रकृतिका रहेका र दुईवटा उजुरी व्यक्ति केन्द्रित रहेका थिए । प्राप्त उजुरीमाथि विस्तृत छलफल गरेको थियो । समितिले प्रस्तावित राजदूतहरूको नियुक्तिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त  बैठक कार्य सञ्चालन नियमावली बमोजिम अनुमोदन गरेको छ ।’’