• ३ पुस २०८१, बुधबार

गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

blog

प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा खसेको सुख्खा पहिरो । तस्बिर : सलिम मियाँ

सलिम मियाँ

बिजुवार, साउन १८ गते । प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्नसमेत मुस्किल परेको छ । 

भालुवाङ–प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।

तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्नेसमेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार वासुदेव गिरीले बताउनुभयो ।


बुधबार राती ठुला ढुङ्गासहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उहाँले बताउनु भयो । 

गिरीले भन्नुभयो,“वर्षायाम लाग्नासाथ यो बाटोमा यात्रा नै सकस हुन्छ,  पटक पटक अवरुद्ध हुने यो बाटो खुलाउन सरोकारवालाको सक्रिय पहल देखिएन ।’’

जिल्ला ट्राफिक कार्यालय देविस्थानका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीले ४ वटा एक्स्काभेटर मार्फत पहिरो पन्छाउने काम भइरहे पनि आज नै बाटो सुचारु हुने सम्भावना न्यून छ भन्नुभयो । 

पहाडको खोँचमा रहेको यो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौँ यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ ।