काठमाडौं, साउन १८ गते । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।
बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताउनुभयो । उहाँले सङ्गठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि जानकारी दिनुभयो ।
अध्यक्ष राउतले भन्नुभयो, ‘‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो । हाम्रो मूल एजेण्डा भनेको सङ्गठन सुदृढीकरण, अभियान चल्दैछ । त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ । विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरू मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो । सरकारमा सहभागिताको विषयमा पनि छलफल हुनेछ ।’’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताउनुभयो ।