• १३ वैशाख २०८१, बिहिबार

मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

blog

पद तथा गोपनीयताको सपथ लिनुहुँदै नवनियुक्त मन्त्रीहरु । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, साउन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो । 

मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन जना मन्त्री नियुक्त गरी चार सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री थापाले सभामुखबाट राजीनामा दिएर सरकार गठनमा भूमिका खेल्नुभएका नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गर्नुभएको हो । 

नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवनियुक्त मन्त्रीको कार्यविभाजन पनि गरिएको छ । गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय, जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिनुभएका गौतमलाई मुख्यमन्त्रीपछिको वरीयता दिइएको छ । जबेगु र सुनुवार यसअघि असार २१ गते पनि थापा नेतृत्वको सरकारमा सहभागी बन्नुभएको थियो । तर, त्यसबेला उहाँहरुको जिम्मेवारी तोकिएको थिएन ।