गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १४ गते । गैरदलितको बस्तीनजिक दलितले घर बनाएपछि उक्त घर भत्काइदिएको घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ । सुदूरपश्चिमका नेता तथा दलित अधिकारकर्मीले आइतबार यहाँ पत्रकार सम्मेलन गरी कारबाहीको माग गरेका हुन् ।
साउन १० गते बझाङको वित्थडचीर गाउँपालिका–७ स्यालढुंगाको बाहुनवस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर गैर दलित समुदायले भत्काइदिएका थिए । जातीय भेदभावजन्य गाली गलौच, कुटपिट र निर्माणाधीन घर भत्काइदिएर १२ लाख रुपियाँ बराबरको चल अचल सम्पत्ति नष्ट गरिदिएको पीडित पुड्के ओखेडाले बताउनुभयो ।
आफू दलित भएकै कारण गैर दलित समुदायले निर्माणाधीन घर भत्काउँदा र बालीनाली नष्ट गर्दा पनि प्रहरी प्रशासनले पक्राउ नगरेको उहाँको गुनासो छ । पूर्व राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय सदस्य आशा विकले जातीय विभेदकै कारणले आपराधिक घटना घटेको चर्चा गर्दै पीडितलाई परिवारलाई न्याय दिनुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विकले घटनामा जातीय विभेदविरुद्धको उजुरी दिए पनि प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गराएर जातीय विभेदलाई संरक्षण गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कैलालीको गैरीगंगा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विवाह गरेपछि विस्थापित भएको घटनामा पनि न्यायको माग गरिएको छ । काठमाडौँस्थित गौशाला प्रहरी वृत्तका प्रहरीले ‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन’ भन्दै दुर्व्यवहार गरेको पीडित खड्काले बताउनुभयो ।