• १६ चैत २०८०, शुक्रबार

पर्यटक लोभ्याउँदै साँखदह

blog

राजु लामिछाने 

रुकुमपश्चिम, साउन १४ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ मा रहेको साँखदह पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम रहेकै पालिकामा रहेको र मध्यपहाडी लोकमार्गको छेउमा रहेको सुन्दर साँखगाउँको मध्यभागमा रहेको यो दह अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेका छन्। 

वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचना निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो । अहिले विभिन्न संरचना निर्माणपश्चात् साँखदहको स्वरुप बदलिएको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । 

नेपाल सरकारको विशेष अनुदानमार्फत साँखदहमा विभिन्न संरचना बनाएपछि पछिल्लो समय दह अवलोकनका लागि पर्यटक आउन थालेका छन् । दह परिसरमा पर्यटन प्रवर्द्धनका लागि गेट निर्माण गरिएको छ भने प्रतीक्षालय, दह वरिपरि बाटो, रेलिङ बनाइएको छ । त्यसैगरी, दहमा मिसिन आउने अनावश्यक पानीको निकासका लागि पीसीसी नाला मेत निर्माण गरिएको छ। 

वडाध्यक्ष पाण्डेले दहमा संरचनाहरु व्यवस्थित गरिएपछि पशुचौपायहरु जथाभावी जानबाट रोकिएको छ । तालमा वर्षायाममा पानी भरिन्छ भने हिउँदयाममा पानी कम हुने गर्दछ । वडाध्यक्ष पाण्डेले तालमा बाह्रै महिना पानी भरिभराउ बनाउन बाहिरको पानी ल्याउने योजना रहेको सुनाउनुभयो । अहिले दहको विभिन्न भागमा पानीका मुहानहरु फुट्ने गरेका छन् । 

दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याएपछि घुम्न लायक भएको मुसीकोट नगरपालिका १ का डम्बर थापाले बताउनुभयो । थापाले दह व्यवस्थित नहुँदा भैँसीहरु आहाल बसेको, दह पुरिँदै गएको देखिने गरे तापनि अब भने हेर्न र घुम्न लायक भएको जनाउनुभयो । तालको अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने व्यवस्था रहेको थापाले बताउनुभयो ।