• १२ वैशाख २०८१, बुधबार

पोखरामा भुवा

blog

लेखनाथ समाचारदाता

लेखनाथ, साउन १४ गते । साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरिएको हो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जीवन नै कथा जस्तै भएको उल्लेख गर्नुभयो । सरुभक्तले भन्नुभयो, “जन्मदेखि नै कथा सुरु हुन्छ । बाँचुन्जेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने पनि थाहा छैन ।”

नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले आयतनले मात्र लघुकथा बन्न नसक्ने औँल्याउँदै यसको भाव र संरचनालाई एकसाथ अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार हरिदेवी कोइरालाले ‘भुवा’ मा जीवनका धेरै कथा सुन्दर रूपमा कुँदिएको धारणा व्यक्त गर्नुभयो । समीक्षक डा. भूमिराज बस्ताकोटीले कृतिमा पारिवारिक, सामाजिक र राजनीतिक विषयको प्रधानता रहेको उल्लेख गर्नुभयो । जनजीवनमै देखिएका, सुनिएका तर सामान्य पाठकले याद नगरेका पक्षहरूलाई कथाकारले सटिक रूपमा सिर्जनामा उतारेको उहाँको भनाइ छ । कृतिकार दाहालले पाठक, समीक्षकको सुझाव अनुसार आगामी सिर्जना यात्रा परिमार्जित गर्दै अघि बढ्ने प्रण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाले २०७४ मा स्थापना भएको प्रतिष्ठानले नियमित लघुकथा वाचनसहित विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो । उपाध्यक्ष कल्याण पन्तले लघुकथा तन्काएर कथा र कथा खुम्च्याएर लघुकथा बनाउन खोजे सिर्जना दुर्घटित हुने जनाउनुभयो । दाहालको यो पाँचौँ कृति हो । झापामा जन्मेर तनहुँमा कर्मथलो बनाउनुभएका दाहालका यसअघि मधुरिमा, उद्वेलित मनहरू, यी मान्छे, यी नजर गजल सञ्चयन र कविको मृत्यु कविता सञ्चयन प्रकाशित छन् । ५१ लघुकथा सङ्गृहित कृतिको मूल्य २५० रुपियाँ छ ।