• २३ माघ २०८१, बुधबार

विश्व आदिवासी दिवस मनाउन महासङ्घको तयारी

blog

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का पदाधिकारीहरु छलफलमा ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १३ गते । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले साउन २४ (९ अगस्ट) मा २९ औँ विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइदैआएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो । 

महासङ्घले साताव्यापी विविध कार्यक्रमगरी दिवस मनाउने तयारी गरेको छ । जसअन्तर्गत महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महासङ्घले विभिन्न उपसमिति समेत गठन गरेको छ । 

जसअन्तर्गत नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी रैली व्यवस्थापन उपसमिति र स्वयंसेवक उपसमिति, सचिव गोविन्द लामा ह्यल्मोको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष विमल सारु मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ । 

विश्व आदिवासी दिवसका सन्दर्भमा महासङ्घले पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौँ । परम्परागत ज्ञान, सीपको प्रवर्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ भन्ने मूलनारा समेत तय गरेको नेफिनका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । 

दिवसलाई कोशी प्रदेश नामकरणको सन्दर्भमा भइरहेको आन्दोलनलाई सहयोग पुग्नेगरी शक्ति प्रदर्शनका हिसाबले पनि यो दिवस भव्य बनाइने नेफिनका वरिष्ठ उपाध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

नेफिनले साउन २४ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रमअघि सोही दिन भृकुटीमण्डपबाट नेफिनमा आबद्ध सबै जातीय सङ्घ संस्थाहरू आफ्नो जातीय भेषभूषा, संस्कार, संस्कृतसहितको झाँकी रैली गरिने नेफिनका महासचिव दिवस राईले जानकारी दिनुभयो । समारोहस्थलमा जातीय भेषभूषा तथा फुड फेस्टिभल पनि आयोजना गरिने बताउनुभयो ।   

कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । समारोहमा शिक्षामन्त्री अशोक राई, सहरी विकासमन्त्री सीता गुरुङ, संस्कृति, पर्यटन तथा पर्यटनमन्त्री सुदन किराती र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको समेत उपस्थिति रहने जनाइएको छ । 

यसैबीच विश्व आदिवासी दिवस साताव्यापी रूपमा मनाउने तयारी अन्तर्गत नेफिनले आबद्ध जातीय सङ्घ संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । छलफलले महासङ्घमा आबद्ध सबै सङ्घ संस्थाहरूले विविध कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।  

कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेपाल छन्त्याल सङ्घका अध्यक्ष मोहन छन्त्याल, किरात राई यायोख्खाका अध्यक्ष जीवन हताचो राई, कुमाल समाज नेपालको महासचिव गणेश कुमाल, तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष धनमान गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका महासचिव शोभा सुनुवारलगायतले आदिवासी जनजातिका प्रथाजनित मान्यतामाथि पटक–पटक धावा बोल्ने काम भइरहेको भन्दै यस्ता इश्युहरू आउँदा आदिवासी जनजातिको सवालमा काम गर्ने संघसंस्थाबीच समन्वय र एकता हुनुपर्ने बताएका थिए । 

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।