• ४ वैशाख २०८१, मङ्गलबार

बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

blog

ढाका, असार १३ गते । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन् भने प्रहरीमाथि  ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।

विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।

सहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् । केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्याँस र रबरका गोली प्रहार गरिएको बताएका छन् । ढाका सहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । रासस/एएफपी